मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

अनमोलका थरिथरिका फ्यान

फिल्मीखबर, काठमाण्डौ, 2018/02/11
अभिनेता भुवन केसीका छोरा हुन् अनमोल । तर, अब उनलाई भुवनको नामले चिनाइरहनु पर्दैन । 'होस्टेल', 'जेरी', 'ड्रिम्स' र 'गाजलु' फिल्मले उनलाई सुपरस्टार अभिनेताका रूपमा स्थापित गराइसकेको छ । 'साथी म तिम्रो' फिल्मबाट डेब्यू गरेका उनी युवा पुस्तामाझ निकै लोकप्रिय छन् । 
 
शुक्रवारबाट २ वर्षपछि पर्दामा फर्किएका अनमोल स्टारर फिल्म 'कृ' देशैभर रिलिज भयो । १ सय १५ हलमा एकसाथ प्रदर्शनमा आएको यो फिल्मले यतिबेला एकपछि अर्को गर्दै रेकर्ड ब्रेक गरिरहेको छ । प्रदर्शनको पहिलो दिन ६५ प्रतिशत रहेको फिल्मको अकुपेन्सी शनिवार शतप्रतिशत रह्यो । शनिवार हलमा देखिएको दर्शकको अत्याधिक चापले पनि अनमोल वास्तवमै नेपालका सुपरस्टार अभिनेता हुन् भन्ने कुरा प्रमाणित गर्छ । 
 
शनिवार २ बजे अनमोल गोपीकृष्ण हलमा दर्शकसँग साक्षात्कार गर्ने भएपछि फिल्मीखबरको टीम पनि त्यहाँ पुग्यो । पत्रकार मनिष अन्जानसँग फोटोग्राफर विवेक बस्याल पनि साथमा थिए । झण्डै २ बजेको सेरोफेरोमा प्रहरीको एक भ्यानले ओम अस्पतालको सडकबाट स्कटिङ गरेर अनमोलको गाडी गोपीकृष्ण हल छिरायो । भीड कति थियो त्यो त तपाईहरुले मिडियोमार्फत पनि हेरिसक्नु भएको छ । 
 
 
गोपीकृष्णको गेटबाट अनमोललाई बालकोनीसम्म पुग्न करीब २० मिनेट लाग्यो । भीड नसोचेको थियो । गोपीकृष्ण मैदानमा जति दर्शक उनको प्रतिक्षामा थिए त्योभन्दा कम थिएनन् ओम अस्पतालको सडकबाट निहाल्नेहरु पनि । गोपीकृष्णमा हजारौ दर्शकले 'अनमोल-अनमोल' भन्दै चिच्याएको दृश्य कम्ता रमाइलो थिएन । ६ जना बडिगार्डले उनलाई सुरक्षा दिएका थिए । 
 
गेटबाटै अनमोलको गाडीलाई उनका 'हाईहार्ट' फ्यानले छाडेनन् । प्रहरीको सहायतामा मुश्किलले उनी सवार गाडी गोपीकृष्णको टिकट काउन्टर नजिकै पुग्यो । त्यसपछि अगाडि बसेका एक बडिगार्डले पछाडिको ढोका खोले । अनमोलको एक झल्को हेर्न हानाथाप गरिरहेका हजारौ दर्शकलाई जब उनी हात हल्लाउँदै गाडीबाट निस्किए तब त त्यहाँको भीड सम्हाल्ने सक्ने अवस्थामा थिएन । पार्किङमा राखिएका दर्जनौं बाइकहरु दर्शकको ठेलमठेलले लड्न थाले । 
 
अनमोललाई सुरक्षा दिइरहेका एक इन्स्पेक्टर भन्दै थिए, ‘केटोको क्रेज त गज्जब रहेछ ।’ त्यो आवाज फिल्मीखबर डटकमका पत्रकार मनिष अन्जानको कानसम्म ठोकियो । आँखामा कालो चस्मा लगाएका गहुँगोरो अनमोललाई देखेपछि युवतीहरु रुन र चिच्याउन थाले । उनको तश्बिर खिच्न सबैको हातमा मोवाइल देखिन्थ्यो । तर, अत्याधिक भीडका कारण अनमोलले धेरै फ्यानसँग सेल्फी खिच्न पाएनन् । बडिगार्डलाई भीड सम्हाल्न पसिना छुटेको थियो । 
 
यस्तैमा बल्लतल्ल उनी गोपीकृष्णको बालकोनी पुगे । अनि, सबै दर्शकलाई ‘लभ यू’ भने र नेपालको राष्ट्रिय गान सँगै गाउन आग्रह गरे । उनीसँगै हजारौं आवाजहरु एकसाथ गुञ्जियो- ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली ।’ उनको छेवैमा नायिका अदिती बुढाथोकी पनि थिइन् । पहिलो पटक यसरी फ्यानमाफ उनको भेट भएको थियो । इस्टाग्राममा फलो गर्ने अदितीका फ्यानहरु पनि हलमा उल्लेख्य देखिन्थे । 
 
केहीबेर आफ्ना फ्यानलाई धन्यवाद दिएपछि अनमोल मिडियासँग कुराकानी गर्न तर्फ लागे । करीब १५ मिनेटपछि उनी फेरि तल झरे । हलमा फिल्म सुरु भइसकेका कारण अब भीड कम भएको होला भन्ने उनले सोचे तर दर्शकहरु उनकै प्रतिक्षामा एकतमासले चिच्याइरहेका थिए । आउँदा जति गाह्रो भएको थियो जाँदा झन उनलाई मुश्किल भयो । कोही लुगा समात्थे त कतिको बोल्ने आवाजसम्म निस्किएन । मात्र अनमोललाई देखेपछि रुन थाले युवतीहरु । 
 
त्यहाँ एक अनौठो दृश्य देखियो । लामा समुदायका एक युवकको आँखामा गहभरी आँसु थियो । सुरुमा त उनी ‘अनमोल-अनमोल’ भन्दै चिच्याइरहेका थिए तर अनमोलले हजारौंको भीडमा उनलाई ठम्याउन पाएनन् । उनले चिच्याउँदै गर्दा भन्दै थिए- ‘म तिम्रो सबैभन्दा ठूलो फ्यान हुँ ।’ गोपीकृष्णबाट बाहिरिँदै गर्दा अनमोलसँग उनले सेल्फी खिच्न भने पाए । यस्ता दृश्य त्यहाँ प्रशस्तै थिए । 
 
‘मलाई बिहे गर’, ‘म तिमी विना बाँच्न सक्दिनँ’, ‘आई लभ यू माई हार्ट’, ‘लभ यू अनमोल’, ‘मेरो राजा’ जस्ता आवाजमा युवतीहरु चिच्याउन छाडेका थिएनन् । अनमोल पनि आफ्ना फ्यानलाई ‘लभ यू’ भन्दै बल्ल-बल्ल गाडी चढे । र, फेरि उनलाई प्रहरीले स्कटिङ गरेर ओम अस्पतालको सडकसम्म पुर्‍यायो । सडकसम्म पनि उनलाई फ्यानले छाडेनन् । अन्ततः हात हल्लाउँदै उनी चक्रपथतर्फ लागे । 
 
 
फिल्म ‘कृ’ रिलिजको पहिलो दिन ५ बजेको शोमा राजधानीको विग मुभिजमा अनमोलका एक ५ वर्षका अनौठा फ्यान भेटिए । उनको गालामा रातो रंगले ‘कृ’ लेखिएको थियो । उनी अनमोलका ‘हार्टहार्ट’ फ्यान रहेछन् । उनीमात्र होइन उनकी आमाले पनि आफूलाई अनमोल सबैभन्दा धेरै मन पर्ने बताइन् । अनमोलका जर्बजस्त फ्यानकै कारण शनिवार फिल्मले करोडमाथि कलेक्सन गरेको खबर प्राप्त छ । 
 
दुई दिनमा कति कमायो ? 
 
‘कृ’ ले प्रदर्शनको पहिलो दिन देशभरबाट कूल ९७ लाख ३ सय ७५ रुपैयाँको ग्रस विजनेश गरेको रिपोर्ट प्राप्त छ । यस्तै, दोस्रो दिनको कलेक्सन १ करोड ६८ लाख ५३ हजार २ सय ३३ रुपैयाँ ग्रस छ । दुई दिनको कलेक्सन जोड्ने हो भने फिल्मले कूल २ करोड ६५ लाख ५३ हजार ६ सय ८ रुपैयाँ कमाउन सफल भएको छ ।