मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(18 votes, avg 5.00/5.00)
Text size:-
+
-

हलमा देखियो अनमोलको क्रेज, जताततै ‘कृ’ हाउसफूल

फिल्मीखबर, काठमाण्डौ, 2018/02/10
युवा स्टार अनमोल केसी वास्तवमै ‘सुपरस्टार’ हुन् । शनिवार हलमा देखिएको दर्शकको थामिनसक्नुको भीडले पनि यो कुरालाई प्रमाणित गर्छ । २ वर्षदेखि यी चकलेटी हिरोको फिल्मको प्रतिक्षामा रहेका दर्शकलाई ‘कृ’ ले कति सन्तुष्टी दियो त्यो कुरा यो प्याकेजमा नगरौं तर हलमा उनकै लागि पुगेका दर्शकको भीड साँच्चै ‘कुम्भ मेला’ लागे झैँ थियो ।  
 
शनिवार करीब २ बजे अनमोल ६ जना बडिगार्डसहित नव-नायिका अदिती बुढाथोकीलाई साथमै लिएर काठमाडौंको गोपीकृष्ण हल छिरे । घण्टैदेखि अनमोलकै प्रतिक्षामा रहेका हजारौं दर्शक ओम अस्पतालको सडकदेखि सिनेमा हलको टिकट काउन्टरसम्म थामिसक्नु थिएनन् । बडिगार्डको त कुरै छाड्यौँ दुई गाडी भ्यानमा आएका प्रहरीलाई समेत फ्यानबाट अनमोललाई बचाउन पसिना छुट्यो । 
 
 
बढीजसो १६ देखि २२ वर्ष उमेर समुहका युवा दर्शकहरु फिल्म ‘कृ’ हेर्न हल पुगेका थिए । धेरै त युवतीहरु देखिन्थे । अनमोललाई सामुन्ने देख्दा कति युवतीहरुले आँखामा आँसु सम्हाल्न सकेनन् । ‘अनमोल–अनमोल’ भन्दै चिच्याएका हजारौं दर्शकको आवाज साँच्चै हेर्न लायक थियो । सेल्फी खिच्न हातमा मोवाइल बोकेर बसेका धेरै फ्यानहरु अत्याधिक भीडका कारण अनमोलको छेउसम्म पनि पुग्न सकेनन् । 
 
केहीलाई भने अनमोल आफैंले सेल्फी खिचेर पनि दिए । हलमा फिल्म सुरु भए पछि पनि अनमोलको एक झल्को हेर्नका लागी युवा–युवतीहरु एकतमासले चिच्याइरहेका थिए । केही बेर गोपीकृष्णको बालकोनीमा उभिएर अनमोलले आफ्नो 'हाईहार्ट' फ्यानलाई धन्यवाद दिँदै हात हल्लाए र ‘लभ यू’ भने । प्रायः युवतीहरु ‘अनमोल कति ह्यान्डसम है ?’ भन्दै आफ्ना साथीहरुसँग कुरा गर्दै थिए । 
 
शुक्रवार औसत रहेको फिल्मको कलेक्सन शनिवार भने आक्रामक छ । मल्टिप्लेक्स होस् वा सिंगल, फिल्म जताततै हाउसफूल छ । अचम्म त के छ भने यसपटक अनमोलको क्रेज सिंगल हलमा व्यापक देखिएको छ । यसअघि उनका फिल्म हेर्न मल्टिप्लेक्समा दर्शकको ओहिरो लाग्ने गर्थ्यो । 
 
 
शनिवार बिहान गोपीकृष्णका चारवटा पर्दा हाउसफूल भएका थिए । दिवा शोमा ६ वटा पर्दा हाउसफूल भए । शनिबार बलिउड स्टार अक्षय कुमार अभिनीत फिल्म ‘प्याडम्यान’ लाई सानो हलमा सारेर गोपीसहित पाँच स्क्रिन ‘कृ’ का लागि उपलब्ध गराइएको छ भने अष्टनारायणको मुख्य स्क्रिनमा समेत यसै फिल्म लगाइएको छ । उक्त हलका अनुसार, फिल्मले शनिवार बिहानी र दिवा शोमा  ‘हाउसफुल’ व्यापार गरेको छ ।
 
राजधानीका गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा ‘कृ’ ले पकड जमाएको छ । शुक्रबारको सुखद व्यापारिक नतिजाका कारण हलवालाले शनिबार बिहानैदेखि थप स्क्रिन उपलब्ध गराएका छन् ।
 
यस्तै, मल्टिप्लेक्समा पनि दर्शकको चाप उच्च देखिएको थियो । काठमाण्डौका जय नेपाल, कुमारी, सिभिल मल, लबिम मल, बीग मुभिजमा फिल्मले पाएको सबै शोमा हाउसफूलका साथ दर्शकले फिल्म हेरे । यस्तै, काठमाण्डौ बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको वितरक मनोज राठीले बताए ।
 
फिल्मको २ दिनको कलेक्शन आइतबार बिहानसम्म थाहा हुने वितरकले बताएका छन् । तर, एक्सन र लभ स्टोरी जनराको यो फिल्मले बम्पर व्यापार गरेको वितरकको भनाई छ । फिल्म हेरेपछि दर्शकले अनमोलको रोमान्टिक र एंग्री लुक्स दुवै मन पराएका छन् । नायक अनुप विक्रम शाहीको अभिनयलाई सबैभन्दा धेरै रुचाइएको छ । अदितीको अभिनयलाई दर्शकहरुले तारिफ गरेका छन् ।
 
 
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।
 
‘कृ’ मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् ।