बहु-प्रतिक्षित फिल्म ‘कृ’ को बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा मंगलवार साँझबाटै बुकिङ ओपन गरिएको हो ।
फिल्मलाई क्युएफएक्स सिनेमाले मात्रै १८ शो दिएको छ । फिल्मले सिभिल मलमा ६ शो, लविङ मलमा ५ शो, कुमारी हलमा ४ शो, जय नेपालमा ३ शो, एफक्यूवमा ६ शो पाएको छ । बुकिङ आक्रामक भएको खण्डमा फिल्मको शोमा बुधवार साँझबाट वृद्धि हुने निर्माण पक्षको भनाई छ ।
बलिउडस्टार अक्षय कुमार अभिनीत फिल्म 'प्याडम्यान' पनि रिलिज हुने भएका कारण ‘कृ’ को शोमा केही तलमाथि भएको छ । अझैसम्म 'प्याडम्यान' नेपाल आउने वा नआउने कन्फर्म नभएको स्रोत बताउँछ । यदी यो फिल्म नेपाल रिलिज नभएको खण्डमा ‘कृ’ ले मल्टिप्लेक्समा सर्वाधिक शो पाउनेछ ।
.jpg)
बुकिङ खुल्ला गरिएको केही घण्टामा नै मल्टिप्लेक्समा ‘कृ’ को टिकट दर्शकले 'रिजर्भ' गरिसकेका छन् । मोफसल वितरणको जिम्मा लिएका मनोज राठीले फिल्म पूर्वदेखि पश्चिमसम्मका सबै हलहरुमा रिलिज हुने जानकारी दिए । प्राप्त जानकारी अनुसार, यो फिल्म काठमाडौं र मोफसल गरि कूल ९० वटा सिनेमा हलहरुमा प्रदर्शन हुनेछ । सोलो प्रदर्शनमा आउन लागेका कारण पनि ‘कृ’ ले सर्वाधिक हल पाएको छ ।
खुल्ला गरिएको केही घण्टामै देखिएको आक्रामक बुकिङले गर्दा फिल्मको ओपनिङ कस्तो हुने भन्ने समेत चर्चा बढेको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्मले पहिलो दिन नै १ करोड बढिको ओपनिङ गर्ने अनुमान लगाईएको छ ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।
फिल्ममा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

