.jpg)
जतिजति फिल्म ‘कृ’ को रिलिज डेट नजिकिँदै छ उतिउति युवा स्टार अनमोल केसीको चर्चा पनि चुलिँदो छ । लगातार चार फिल्म सुपरहिट दिएका उनका लागि यो फिल्मको बक्स अफिस कलेक्सनले ठूलो अर्थ बोक्ने फिल्म पण्डितहरु बताउँछन् । बढ्दो लोकप्रियताका कारण उनीमाथि ‘कृ’ बाट ‘छक्का पञ्जा’ को १६ करोडको एतिहासिक व्यापारिक रेकर्ड तोड्नु पर्ने दबाब पनि श्रृजना भएको छ ।
तर, उनी आफ्नो प्रतिस्पर्धा नेपाली फिल्मसँग नभएको बताउँछन् । सोमवार फिल्म ‘कृ’ को ‘मैले जानी नजानी’ बोलको गीत सार्वजनिक कार्यक्रममा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भने, ‘छक्का पञ्जा’ को रेकर्ड तोड्नु पर्ने चुनौती ममाथि छैन । किनकी, मेरो प्रतिस्पर्धा नेपाली फिल्मसँग होइन ।’ उनी ‘कृ’ मा आफ्नो भूमिकालाई दर्शकले रुचाउनेमा विश्वस्त देखिन्छन् ।
.jpg)
‘उमेर बढेसँगै अभिनयमा पनि मैले परिवर्तन ल्याउने कोशिश गरेको छु । यसअघि जति पनि फिल्ममा मैले काम गरेँ तीभन्दा ‘कृ’ मा मेरो भूमिका विल्कुलै फरक छ । एक्सनमा धेरै मिहिनेत गरेको छु । आफूले दिनसक्ने शतप्रतिशत फिल्ममा दिएको छु जस्तो लाग्छ ।’ उनले भने ।
उनी आफ्ना लागि ‘कृ’ को बक्स अफिस कलेक्सन महत्वपूर्ण नरहेको बताउँछन् । अनमोल अगाडि थप्छन्, ‘मैले फिल्ममा निर्वाहा गरेको भूमिका चाहिँ दर्शकहरुले मन पराउनु हुन्छ वा हुन्न भन्ने महत्वपूर्ण कुरा हो । फिल्मको बक्स अफिस कलेक्सनले मलाई कुनै ठूलो फरक पार्दैन ।’
.jpg)
एकसाथ प्रदर्शनमा आउन लागेको बलिउड स्टार अक्षय कुमार अभिनीत फिल्म ‘प्याडम्यान’ ले ‘कृ’ लाई खासै ठूलो असर नगर्ने अनमोलको अनुमान छ । ‘प्याडम्यान’ ले केही त असर गर्छ होला तर खासै ठूलो फरक पार्छ जस्तो त लाग्दैनँ ।’ अनमोल भन्छन्, ‘पछिल्लो समय बलिउड फिल्मले भन्दा नेपाली फिल्मले नै राम्रो दर्शक पाइरहेका छन् ।’
माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको सुरेन्द्र पौडेल निर्देशित ‘कृ’ मा अनमोलले नव-नायिका अदिती बुढाथोकीसँग स्क्रिन शेयर गरेका छन् । अदिती, अनमोलको स्टारडम र क्रेजले आफू छाँयामा नपर्नेमा ढुक्क छिन् । उनी भन्छिन्, ‘हो, अनमोलको क्रेज छ । तर त्यसले मलाई असर गर्दैनँ ।’

उनले कथावस्तु र आफ्नो भूमिका राम्रो भएपछि ‘कृ’ मा काम गरेको बताइन् । उनी अनमोलका कारण पनि फिल्म साइन गरेको स्वीकार गर्छिन् । उनले यसअघि ‘ड्रिम्स’ बाट पनि आफूलाई अफर आएकोे खुलाइन् । उनले अगाडि भनिन्, ‘मैले त्यसबेला फिल्ममा आउने सोच नै बनाएकी थिइनँ ।’

