मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत ३० मै फर्कियो ‘लिलिबिली’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/29
प्रत्येक नयाँ वर्षमा नेपाली फिल्मको भाले जुधाई घमासान हुँदै आएको छ । वर्ष २०७५ को नयाँ वर्ष बलिउडको सर्वाधिक बहुप्रतिक्षीत फिल्म ‘२.०’ ले आफ्नो काबुमा पार्ने कन्फर्म जस्तै थियो । अन्ततः यो फिल्मको रिलिज डेट पोस्टपोन्ड भएपछि अब नेपाली फिल्मलाई ठूलो फाइदा भएको छ । 
 
‘२.०’ का कारण नेपालका ठूला भनिएका फिल्मको रिलिज डेट नराम्रोसँग विग्रिएको थियो । यही फिल्मको कारण युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ चैत ३० बाट बैशाख १४ पुगेको थियो । तर, अब यो फिल्म पूर्व निर्धारित मितिमै फर्किएको छ । अर्थात्, ‘लिलिबिली’ अब चैत ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । 
 
निर्माता गोविन्द शाहीले फिल्मको प्रदर्शन मिति पुरानै रहेकोे जानकारी दिए । उनी ‘२.०’ पोस्टपोन्ड भएपछि ‘लिलिबिली’ चैत ३० मा फर्किएको स्वीकार गर्दैनन् । उनी भन्छन्, ‘हामी कुनै बलिउड फिल्मबाट भागेका छैनौं । जुनसुकै फिल्म आएपनि हामी चैत ३० मै आउँछौं ।’ 
 
 
यो फिल्मले बैशाख १४ छाड्दा अब नायिका केकी अधिकारीलाई भने ठूलो राहत मिलेको छ । उनले पहिलो पटक निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ यही मितिमा प्रदर्शन हुँदैछ । ‘लिलिबिली’ भिड्न आउने भएपछि केकीले आफ्नो फिल्मको रिलिज डेट पछाडि सार्ने तयारीमा थिइन् । अब उनलाई ढुक्क भएको छ । 
 
यता, ‘लिलिबिली’ चैत ३० मा फर्किँदा नायक दयाहाङ राई अभिनीत फिल्म ‘नेप्टे’ लाई भने मुश्किल पर्ने भएको छ । प्रदीपको फिल्म पोस्टपोन्ड भएपछि यो मितिमा दयाहाङ आएका थिए । अब के ‘नेप्टे’ को रिलिज सर्ला ? प्रश्न उब्जिएको छ । 
 
‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बाट बलियो फ्यान क्रेज बनाएका प्रदीपको फिल्मसँग जुध्न अहिले अन्य फिल्मले सात पटक सोच्न थालेका छन् । ‘लिलिबिली’ मा प्रदीपले नायिका द्वय प्रियंका कार्की र जसिता गुरुङसँग रोमान्स गरेका छन् । यो फिल्मका निर्देशक मिलन चाम्स हुन् ।