.jpg)
स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी श्वेता खड्का लामो समयको अन्तरालपछि फिल्ममा कमब्याक गर्दैछिन् । 'कहाँ भेटिएला' र 'कोहिनूर' फिल्म एकसाथ गरेका श्री र श्वेताको जोडीलाई दर्शकले पर्दामा खुब रुचाएका थिए । यही कारण नै उनीहरु रियलमै श्रीमान-श्रीमती बने । तर भगवानको लिला अपरम्पार छ । श्वेतालाई एक्लै बनाएर श्री सदा-सदाका लागि टाढिए ।
श्रीमानको निधनपश्चात झन्डै १ वर्ष शोकमा परेर थलिएकी श्वेता अभिनीत नयाँ फिल्म 'कान्छी' आउँदो फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई उनी आफैंले निर्माण गरेकी हुन् । नायक दयाहाङ राई र श्वेताको फिल्ममा मुख्य भूमिका छ । मंगलवार यो फिल्मको राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरियो ।
आकर्षक परिहनमा ट्रेलर रिलिज कार्यक्रममा उपस्थित श्वेतासँग उनकी आमा पनि साथमा थिइन् । श्रीकृष्णले 'कहाँ भेटिएला' र 'कोहिनूर' आफ्नो होम प्रोडक्शन हाउस 'नेपा: मुभिज' बाट निर्माण गरेका थिए । श्रीको निधनपश्चात श्वेताले नयाँ कम्पनी दर्ता गराइन्, 'काया फिल्मस्' । उनले श्रीलाई सम्झिँदै निकै भावुक शब्दमा एक भिडियो पनि बनाएकी छिन्, जुन यसअघि श्रीको जन्मदिनमा श्वेताले युट्युबमा सार्वजनिक गरेकी थिइन् ।
'कान्छी' को ट्रेलर सार्वजनिक कार्यक्रममा श्वेतामाथी पत्रकारको प्रश्न तेर्सियो- 'श्रीकृष्णलाई निकै भावुक शब्दमा सम्झिएपनि उहाँको कम्पनीको नाम नै परिवर्तन गर्नुभएछ नी ?' श्वेताले भावुक हुँदै भनिन्, 'काया फिल्मस् भनेको श्री दादाको 'नेपा: मुभिज' हो । यसको नियमावलीहरु सबै 'नेपा: मुभिज' हो । मेरो नामबाट ज्योतिषले अलिकति नाम परिवर्तन गर्दा अझ राम्रो हुन्छ भनेपछि 'नेपा:' लाई 'काया' बनाइएको हो ।'
.jpg)
उनले अगाडि थप्दै भनिन्, 'मैले उहाँलाई अरु कार्यमा सम्झिइनँ भन्नुभयो । मैले विर्सिएको भए पो सम्झिने । कुन चाहिँ पलमा मैले उहाँलाई विर्सेको छु र सम्झनलाई । जतिबेला म मिडियामा आउँछु तब झन म उहाँलाई सम्झन्छु । 'कान्छी' पनि उहाँकै लागि बनाएको हो । उहाँको कामलाई नै समर्पित गरेर बनाएको हो ।' यतिबेला उनका आँखामा आँसु टिलपिल देखिन्थे । उनको छेवैमा रहेकी आमा पनि भक्कानिएकी थिइन् ।
आफ्नो ठूलो सासु आमाको निधन भएका कारण 'कान्छी' को ट्रेलर रिलिज कार्यक्रममा श्रीकृष्णको परिवारबाट कोहिँ पनि सदस्य उपस्थित हुन नसकेको पनि श्वेताले जानकारी दिइन् । 'अहिले हामी शोकमा छौं । फिल्म रिलिज भएपछि हल नै बुक गरेर स-परिवार एकसाथ 'कान्छी' हेर्ने निर्णय भएको छ ।' उनले भनिन् ।

