युवा स्टार सलोन बस्नेत र नायिका सारा सिर्पालीको जोडी पहिलो पटक पर्दामा बाँधिने भएको छ । 'अर्धकट्टी' फेम निर्देशक सुब्रत आचार्यले निर्देशन गर्न लागेको नयाँ फिल्म 'सुश्री सम्पत्ति'मा सलोन र सारा अनुवन्धित भएका छन् । साराले यसअघि फिल्म 'रुद्र' र 'पिंजडा ब्याक अगेन'मा काम गरिसकेकी छिन् ।
सोसल कमेडी जनरा बताइएको फिल्ममा विनोद न्यौपाने, प्रमोद अग्रहरी, विशारद बस्नेत, प्रेम वर्षा खड्का लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सुरेश अधिकारीको सोलो संगीत रहने फिल्मलाई अर्जुन तिवारीले खिच्नेछन् ।

रमेश त्वायनाको निर्माण रहने फिल्मको सह-निर्मातामा निर्देशक सुब्रत पनि रहेका छन् । निर्माता रमेशले यसअघि 'हामी तीन भाई', 'हाँसि देऊ एक फेर', 'अर्जुन देव', 'भरोसा' लगायतका फिल्म निर्माण गरिसकेका छन् ।
'सुश्री सम्पत्ति'को स्क्रिप्ट अभिमन्यू अभिमन्यू निरवीले तयार पारेका हुन् । भरत रेग्मीको सम्पादन रहने फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन रहने निर्देशक आचार्यले जानकारी दिए ।
फागुन पहिलो साताबाट छायांकन सुरु हुने फिल्मलाई लिएर निर्देशक आचार्य निकै उत्साहित छन् । उनी भन्छन्, 'राम्रो फिल्म बनाउन कुनै कसुर बाँकी राख्ने छैनँ ।' 'सुश्री सम्पत्ति'को अधिकांश छायांकन पोखरामा हुनेछ ।

