मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मिस्टर झोले’, ‘कबड्डी’ जस्तै फिल्म बनाएको हुँ : रामबाबु गुरुङ

फिल्मीखबर, काठमाण्डौ, 2018/01/18


शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘मिस्टर झोले’ले खडेरी लागेको फिल्मको व्यापार ठूलै राहत दिएको छ । प्रदर्शनको ६ दिनमा झन्डै साढे २ करोड नजिकको विजनेश गरेको यो फिल्मले ओभरसिज राइट्स गरि लगभग आफ्नो लगानी सुरक्षित गरिसकेको छ । साढे १ करोड लागतमा निर्माण भएको फिल्मलाई अत्याधिक रुचाइएको उपलक्ष्यमा निर्माण टीमले दर्शक र मिडियाकर्मीलाई धन्यवाद व्यक्त गरेको छ ।

बिहीवार राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै फिल्मका निर्माता टेकेन खड्काले ‘मिस्टर झोले’ले पाएको सफलताबाट आफू खुसी भएको बताए । उनले भने, ‘हामीले बनाउन खाजेकै फिल्म दर्शकमाझ पुगेको छ । दर्शकहरुले दिनुभएको राम्रो प्रतिक्रियाबाट हामी उत्साहित छौं ।’

लगालग असफलताले साथ नछोडिरहेको अवस्थामा ‘मिस्टर झोले’बाट नायक दयाहाङ राईले ठूलै राहतको महशुस गरेका छन् । उनी भन्छन्, ‘फिल्मले लगानी सुरक्षित गरेको खबर सुन्न पाउँदा म निकै खुसी छु । यसको सम्पूर्ण क्रेडिट दर्शकलाई जान्छ । राम्रासँगै नराम्रा कमेन्टहरु पनि हामीले पायौं । यसलाई हामी अगामी दिनमा सुधार गर्दै लैजाने छौं ।’

कार्यकारी निर्माता रौनक बिक्रम कँडेलले पनि फिल्मको सफलताबाट आफू खुसी भएको बताए । ‘कबड्डी’बाट पहिलो पटक मैले सफलता चाख्न पाएको थिएँ । अब त बानी परेछ ।’ निर्माता रौनक भन्छन्, ‘मिस्टर झोले’को सफलताबाट मैले आफूमा थप जिम्मेवारी थपिएको महशुस गरेको छु ।’

यस्तै, फिल्मका निर्देशक रामबाबु गुरुङ पनि दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रफुलित देखिन्छन् । ‘मिस्टर झोले’, ‘कबड्डी’ फ्लेवरको फिल्म लाग्यो भन्ने आरोपलाई पनि निर्देशक गुरुङले प्रष्ट्याउने प्रयास गरे ।

उनी भन्छन्, ‘दर्शक र मिडियाकर्मीबाट पाएको प्रतिक्रियालाई म सम्मान गर्छु । हो, मैले ‘कबड्डी’ जस्तै फिल्म बनाएको हुँ । मबाट दर्शकले धेरै ठूलो अपेक्षा गर्नुहुन्छ । यो प्रतिक्रियाले पनि म अझ सुध्रिनु पर्छ भन्ने लाग्छ ।’ उनले ‘मिस्टर झोले’मा कथा नै नभएको पनि स्वीकार गरे । निर्देशक गुरुङले यो फिल्मका लागि २५ लाख पारिश्रमिक बुझेका थिए ।

 

यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।