एकसमय नायक निखिल उप्रेतीको नामले पनि फिल्म हिट हुने गर्दथे । उनका जुन फिल्म हलमा लाग्थे त्यसले धुम मच्चाउथे । तर, अहिले समय फेरिएको छ । केही वर्ष यता निखिलको नाम बक्स अफिसमा विक्न छाडेको छ । कमजोर कथावस्तु र ‘कपिपेस्ट’ लाग्ने भूमिकाका कारण निखिलको क्रेज विस्तारै डामाडोल हुँदैछ । यो कुरा उनी आफैंले पनि बुझेका छन् ।
'लुटेरा', 'किंग', 'निर्भय', 'रुद्र' जस्ता फिल्म असफल हुँदा उनले आफ्नो पुरानो क्रेज जीवित राख्न सकेनन् । निखिलको डेब्यू फिल्म थियो ‘पिंजडा’ । करीब २ दशक अगाडि प्रदर्शनमा आएको डेब्यू फिल्ममा नै ७ तलाबाट हामफालेर उनले आफूलाई एक्सन स्टारको रुपमा परिचित गराए । त्यसपछि उनले आफ्नो करिअर पछाडि फर्किएर हेर्नुपर्ने समय नै पाएनन् । निखिलको नाम नेपालमा एक्सनको एउटा ब्रान्ड नै भैसकेको छ ।
यस्तैमा नायिका सञ्चिता लुईटेलसँग दोस्रो विवाह गरेर उनी ५ वर्ष हराए । कतिले निखिल अब फिल्ममा नफर्किने भन्दैगर्दा उनले 'भैरव' लिएर कमब्याक गरे । यो फिल्ममा उनले अभिनयमात्र होइन निर्माण र निर्देशनको जिम्मेवारी पनि सम्हाले । ५ वर्षसम्म निखिलको एक्सन हेर्न नपाएका दर्शकलाई 'भैरव'ले तिर्खा मेटायो । 'बाघ बुढो भएको छैन' भन्ने कुरा निखिलले प्रमाणित गरे । तर, यसपछि उनको क्रेज कुन दिशाबाट आएको हावाले उडायो त्यो रहस्यमय बन्दै गएको छ ।
अब 'रुद्र'पछि उनी आफ्नो डेब्यू फिल्मको नेम सिक्वेलबाट फेरि पर्दामा फर्किँदैछन् । ‘पिंजडा ब्याक अगेन’ माघ ४ गते मोफसल र ५ गतेबाट राजधानी भित्र प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई निखिलको टर्निङ प्वाइन्टको रुपमा हेरिएको छ । आफ्नो गुम्दै गएको क्रेज फर्काउन उनका लागि ‘पिंजडा ब्याक अगेन’ले घरेलू बजारमा राम्रो कमाई र दर्शकको फाटेको मन सिलाउन आवश्यक छ ।
यो फिल्म सफल बन्दा निखिलको स्टारडम अझ बलियो बन्नेछ, क्रेज बढ्नेछ । सिंगल स्कृनमा स्टार क्रेज जीवितै छ, निखिल पर्खिने धेरै दर्शक छन् । फिल्म राम्रो बनेर आएन भने ईनिसियल व्यापारमा निखिलको नामका कारण हलसम्म दर्शक ओहिरिए पनि त्यसपछि जस्तै फ्यानले पनि बाटो मोड्न थाल्छन् । यदी यो फिल्म पनि 'हात्ति आयो हात्ति आयो फुस्स' भनेझैँ भएको खण्डमा निखिलप्रति अब दर्शकको भरोसा उड्नेमा पक्का छ ।
ट्रेलर र गीतका कारण प्रदर्शनपूर्व नै ‘पिंजडा ब्याक अगेन’ले राम्रो हाइप बनाएको छ तर फिल्मको कथा र प्रस्तुतीले दर्शक रिझाउन चाहिँ सफल हुन्छ कि हुँदैन ? यो महत्वपूर्ण कुरा हो । यस फिल्ममा निखिलले दोस्रो पटक नायिका सारा सिपार्लीसँग रोमान्स गरेका छन् । 'रुद्र'मा पनि सारा लिड रोलमा थिइन् । ‘पिंजडा ब्याक अगेन’ का निर्देशक हिमाल केसी हुन् ।