मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

१७ लाख लिएको खबर सत्य हो : विपिन कार्की

फिल्मीखबर, काठमाण्डौ, 2018/01/15
रंगमञ्च हुँदै नेपाली फिल्ममा भित्रिएका कलाकार विपिन कार्की अहिलेका सबैभन्दा 'मोस्ट डिमान्डेड' एक्टर हुन् । भर्सटायल अभिनेताको रुपमा स्थापित विपिनले महंगो नायकको सूचीमा समेत आफूलाई भ्याइसकेका छन् । करीब ६ महिना अगाडि उनले निर्देशक निश्चल बस्नेतले निर्देशन गर्न लागेको फिल्म 'फनफनी'मा १७ लाख पारिश्रमिक लिएको खबर बाहिर आएको थियो । 
 
आइतवार पत्रकारसँग भेटघाटको क्रममा आफूले 'फनफनी'बाट १७ लाख पारिश्रमिक लिएको खबर सत्य रहेको बताए । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'लालपुर्जा'को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मिडियामा आएको खबर सत्य हो । तर, त्यो मैले करीब ६ महिना अगाडि लिएको थिएँ । अहिले पनि त्यति नै पारिश्रमिक छ होला भन्नु चाहिँ गलत हुनसक्छ ।’ 
 
उनले घुमाउरो शैलीमा आफ्नो पारिश्रमिक ६ महिनामा अझ बढेको बताए । पत्रकारको प्रश्नमा उनले अगाडि भने, ‘स्क्रिप्ट लिएर आउनुहोस् अनि थाहा हुन्छ अहिले कति लिन्छु भनेर ।’ यस्तै, उनी नायक द्वय सौगात मल्ल र दयाहाङ राई आफ्नो प्रतिस्पर्धी नभएको बताउँछन् । ‘दाईहरु फिल्म क्षेत्रमा नआउनुभएको भए हामी अझै पनि थिएटरमै हुन्थ्यौं होला ।’, विपिन भन्छन्, ‘अहिले हामी सगौत र दया दाईकै बाटो हिँडिरहेका छौं । मेरो प्रतिस्पर्धा कुनै कलाकारसँग छैन ।’ 
 
 
उनी फिल्म 'लालपुर्जा'मा आफूले निर्वाहा गरेको भूमिकाबाट दर्शकले मनोरञ्जन लिनेमा विश्वस्त देखिन्छन् । ‘मेरो भूमिका फरक छ । कथावस्तुले मन परेर फिल्म गरेको हुँ । फिल्म हेरुन्जेल दर्शकलाई रमाइलो लाग्छ । यर्थाथ जिन्दगीसँग फिल्म धेरै नजिक छ ।’ विपिनले भने । मिस्टिक ड्रामा भनिएको ‘लालपुर्जा’ मा दुई दाजुभाइको लालपुर्जाकै कारण उत्पन्न द्वन्द्वलाई देखाउन खोजिएको छ ।
 
नेगेटिभ बुद्धको व्यानरमा निर्मित फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, बिक्रमसिंह थारु र उमेश श्रेष्ठको लगानी छ । पटकथा भने सुजित बिडारीले तयार पारेका हुन् ।  नरेन्द्र मैनाली फिल्मका छायाँकार हुन् । 
 
‘छड्के’ मार्फत् निर्देशनमा डेब्यु गरेका निगम श्रेष्ठको दोस्रो फिल्म ‘लालपुर्जा’मा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर, हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतका कलाकारहरु अभिनय छ ।