मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(25 votes, avg 4.72/5.00)
Text size:-
+
-

कस्तो छ दयाहाङको ‘मिस्टर झोले’ ओपनिङ ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/13
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘मिस्टर झोले’को ओपनिङ सुखद रहेको वितरकले बताएका छन् । शुक्रवार बढ्दो चिसोको कारण विहानीको शोमा ६० प्रतिशत अकुपेन्सी रहेपनि दिउँसो र साँझको शोमा फिल्मलाई ८० प्रतिशत अकुपेन्सी मिलेको वितरक गोविन्द शाहीले जानकारी दिए । 
 
फिल्मीखबर डटकमसँग कुराकानी गर्दै उनले भने, ‘शनिवार विहान फिल्मको अकुपेन्सी ७० प्रतिशत रह्यो । दिउँसो र साँझ भने करिब शतप्रतिशत छ । शुक्रवारभन्दा फिल्मको कलेक्सन शनिवार आक्रामक छ । जताततै हाउसफूल भएको जानकारी मलाई प्राप्त भएको छ । पुषको कठ्यांग्रीदो जाडोमा पनि ‘मिस्टर झोले’ हेर्ने दर्शकको उपस्थिति उत्साहजनक देखिन्छ । काठमाण्डौ बाहिर पनि फिल्मको ओपनिङ गजब छ ।’ 
 
नायक दयाहाङ राई र निर्देशक रामबाबु गुरुङको क्रेजका कारण पनि ‘मिस्टर झोले’ हेर्न हलमा दर्शकको भीड लागेको वितरक शाही बताउँछन् । ‘दयाहाङको क्रेज बलियो छ भन्ने कुरा ‘मिस्टर झोले’बाट छर्लङ हुन्छ ।’ उनी थप्छन्, ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुङगा’ जस्ता सफल फिल्म निर्देशन गरेका रामबाबुले फेरि कस्तो फिल्म बनाए त ? भन्ने जिज्ञासा मेटाउन पनि हलसम्म दर्शक पुगेको मैले पाएँ ।’ उनले फिल्मको दुईदिने कलेक्सन आइतवार दिउँसोसम्म आफूलाई प्राप्त हुने बताए । 
 
 
सिंगलभन्दा ‘मिस्टर झोले’ हेर्ने दर्शक मल्टिप्लेक्समा बढी छन् । यस्तै, राजधानीका ठुला मानिने सिंगल थिएटर गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा, कलंकीमा पनि दर्शकको साथ उत्कृष्ट रहेको हल सञ्चालकहरुबाट रिपोर्ट प्राप्त छ । निर्देशक गुरुङका अनुसार, फिल्म हेरेका अधिकांश दर्शकहरुले कथावस्तु र कलाकारहरुको अभिनय रुचाएका छन् । 
 
आइतवारबाट माउथ पब्लिसिटीले हलमा दर्शक तान्नेमा निर्माण यूनिट आशावादी छ । रिलिजपूर्व नै हिट बनेको 'ओखती' बोलको गीतले पनि फिल्मको व्यापारमा ठूलो सहयोग पुगेको छ । शनिवार राजधानीका विभिन्न हल पुगेर नायक दयाहाङ राई, नायिका दीया पुन लगायतका कलाकारले दर्शकसँगै बसेर फिल्म हेरे । उनीहरु निकैबेर दर्शकसँग सेल्फीमा पनि रमाए । 
 
रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । २०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म 'झोले' टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । 
 
रामबाबु गुरुङको लेखन र निर्देशन रहेको यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।