मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बटरफ्लाई’ भर्सेस ‘मिस्टर झोले’: कसको होला पल्ला भारी ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/12
 
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ । यी दुवै मल्टिप्लेक्स दर्शक लक्षित फिल्म हुन् । ‘म गाउँदिन अब गीत गजल’ गीतबाट ‘बटरफ्लाई’ले राम्रो हाइप बनाएको छ भने ‘मिस्टर झोले’को ‘ओखती’ गीत पनि उतिक्कै चर्चित छ । 
 
पछिल्लो समय गीतसंगीतका कारण पनि फिल्मको व्यापार आक्रामक देखिएको अवस्थामा यी दुई फिल्मलाई पनि गीतले ठूलो राहत दिनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ । 
 
२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म 'झोले' टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । 
 
रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । 'कबड्डी', 'कबड्डी कबड्डी', 'पुरानो डुंगा' फिल्मका निर्देशक रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।  
 
यस्तै, केन्द्रीय चलचित्र जाँच समितिबाट ‘पिजी’ सर्टिफिकेट पाएको ‘बटरफ्लाई’मा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ । 
 
पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । यो फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् । अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । सुरेश बज्रचार्य फिल्मका छायाँकार हुन् । 
 
बढ्दो जाडोका कारण लगातार फिल्मको व्यापार ‘डाउन’ भइरहेको अवस्थामा ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’माथि घरमा आगोको न्यानोमा बसेका दर्शकलाई हलसम्म तान्नु पर्ने चुनौती छ । वर्षका दुई प्रतिक्षीत फिल्म मैदानमा उत्रिएका कारण दर्शकको भेल कता बढी होला ? कसले छाप्ला मनग्य पैसा ? यो पनि सबैका लागि अहिले चासोको विषय बनेको छ ।