मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

३७ वर्ष लागे रमित, भन्छन्, ‘गुमनाम भएको छैन’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/11
 
एकसमय नेपाली फिल्ममा नायक रमित ढुंगानाको राम्रै बोलबाल थियो । एक्सन फिल्ममा निकै रुचाइएका नायक समेत हुन् रमित । तर, पछिल्लो समय उनलाई गुमनाम नायक भन्न थालिएको छ । गएको वर्ष उनी आफैंले निर्माण र अभिनय गरेको फिल्म ‘बुद्ध बर्न इन नेपाल’ प्रदर्शनमा आएको थियो । नेपालमा फिल्मले लगानी सुरक्षित नगरेपनि यतिबेला रमित विदेश प्रदर्शनमा भ्याई-नभ्याई छन् । 
 
बिहीवारबाट ३७ वर्षमा लागेका रमितले फिल्मीखबर डटकमसँग कुराकानी गर्दै आफू गुमनाम नभएको बताए । उनी भन्छन्, ‘म पर्दामा नआउनुको कारण राष्ट्रियता बोकेको फिल्ममा काम गर्ने रहर लागेको मात्र छ । तर, म पर्दाबाट टाढा भएको चाहिँ छैन । मेरो जन्मदिन पृथ्वी जयन्तीको दिनमा पर्ने भएका कारणले पनि पृथ्वीनारायण शाहको जीवनमाथी फिल्म निर्माण गर्ने कुरा भइरहेको छ । स्क्रिप्टको काम सकिए पनि निर्माण लागत धेरै नै हुने देखिएपछि के गर्ने भनेर सोचिरहेका छौं ।’ 
 
उनले नेपालमा ‘बुद्ध बर्न इन नेपाल’ नचल्नुको विषयमा पनि मुख खोले । रमित अगाडि भन्छन्, ‘नेपालमा आजसम्म राष्ट्रियताको कुनै पनि फिल्म चलेका छैनन् र चल्छ भन्ने सोच राख्नु नै बेकार हो । तर, मेरो उद्येश्य के हो भने विश्वभर यो फिल्मले दिन खोजेको सन्देश पर्‍याउनु हो । अहिले म विभिन्न देशमा यही फिल्मको प्रदर्शनमा व्यस्त छु ।’ यस्तै, उनले चाँडै दर्शकले आफ्नो एक्सन प्याक फिल्म पनि हेर्न पाउने बताए । 
 
‘बुद्ध बर्न इन नेपाल’ नचल्नुको पछाडि नेपाली दर्शकले फिल्ममा मेरो एक्सन हेर्न नपाएर पनि होला जस्तो लाग्छ । मलाई धेरै दर्शकले अब एक्सन फिल्म लिएर आउनु पर्‍यो भनेर भन्नुहुन्छ । यसका लागि अझै केही समय लाग्न सक्छ । अहिले जुन किसिमका फिल्महरु चलिरहेका छन् त्यसले गर्दा पनि मैले केही समय ब्रेक लिने निर्णय गरेको हुँ । तर स्क्रिप्टहरु भने हेरिरहेको छु ।’, उनले भने । 
 
२०६१ सालमा फिल्म 'माया नमार'बाट रमित नेपाली रजतपटमा भित्रिएका थिए । उनी अभिनीत 'दुर्गा', 'देवर बाबु', 'धड्कन', 'शक्ति', 'ट्याक्सी ड्राइभर', 'मानिस', 'जीवनदाता', 'मुगलान' जस्ता फिल्महरु दर्शकको सम्झनामा अझै ताजा छन् । 
 
नायक रमित ढुंगानालाई फिल्मीखबर डटकम परिवारको तर्फबाट जन्मदिनको शुभकामना !