नायिका शिल्पा पोखरेल अभिनीत फिल्म ‘मंगलम’को रिलिज डेट फेरि पोस्टपोन्ड भएको छ । केहीदिन देखि लगातार भएको वितरक कम्पनीसँगको छलफलपछि निर्माता छविराज ओझाले ‘मंगलम’लाई फागुन २५ गते प्रदर्शनमा ल्याउने निधो गरेका छन् ।
यसअघि फिल्मले कन्फर्म गरेको फागुन ४ मा ‘कान्छी’ र एक हप्ता अगाडि अर्थात्, माघ २६ गते युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ प्रदर्शनमा आउने भएपछि निर्माता ओझाले सुरक्षित बाटो खोज्दै फागुन २५ रोजेका हुन् । ‘मंगलम’ सरेसँगै अब फागुन ४ मा श्वेता खड्काको ‘कान्छी’ सोलो रिलिज हुने भएको छ ।
फागुन ४ अघि ‘मंगलम’ असोज ११ गते फिल्म ‘छक्का पञ्जा २’ सँग पनि जुध्न तयार भएको थियो । एफडी कम्पनीले एमजी दिने सहमती पश्चात यो मिति ‘छक्का पञ्जा २’ लाई छाड्दै ‘मंगलम’ ब्याक हटेको थियो । यस्तै, एफडी कम्पनी र निर्माता ओझाबीच फागुन २५ गते एफडी कम्पनीबाट अन्य कुनै पनि फिल्म प्रदर्शन नगर्ने लिखित सम्झौता समेत भएको छ ।
.jpg)
असोज ११ गते प्रदर्शनमा आउने तयारीका साथ निर्माण यूनिटले फिल्मको ‘पर्ख पर्ख मायालु’ बोलको गीत युट्युबमा फ्यालिसकेको छ । नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको फिल्म ‘मंगलम’का कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् ।
फिल्ममा शिल्पा र पुष्पका अलावा पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । यो फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि अभिनय छ ।
फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायाँकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

