.jpg)
शुक्रवारबाट प्रदर्शनमा आएका दुई फरक स्वादमा निर्मित फिल्म ‘फिर्के’ र ‘राज्जा रानी’ले सुखद ओपनिङ गरेका छन् । मल्टिप्लेक्समा दर्शकको उपस्थिति खासै बाक्लो नभएपनि सिंगल हलमा दुवै फिल्म हेर्ने दर्शकको चाप शुक्रवार र शनिवार राम्रो देखिन्थ्यो । आइतवार दुवै फिल्ममा दर्शकको औसत उपस्थिति छ ।
मैथिली भाषामा समेत प्रदर्शन भएको ‘राज्जा रानी’को कलेक्सन तराई क्षेत्रका हलमा भने राम्रो छ । समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो फिल्मले दर्शकबाट भने राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘फिर्के’को कथावस्तु र प्रस्तुतीलाई पनि दर्शकले रुचाएका छन् । यी दुवै फिल्मको लाइफटाइम कलेक्शन आइतबारदेखिको व्यापारमा भर पर्नेछ ।
फिल्म रिलिजसँगै ‘फिर्के’को यूनिट शुक्रवार र शनिवार हल-हलमा दर्शक प्रतिक्रिया लिन पुगेको थियो । फिल्मका कलाकार तथा निर्माता सुलेमान शंकर ‘ईकु’ र निर्देशक रवि डंगोल ‘बेमान’ले दर्शकको प्रतिक्रियाले उत्साहित रहेको बताएका छन् । यस्तै, ‘राज्जा रानी’ यूनिट पनि दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रशन्न देखिएको छ ।
दाइजो प्रथाको कथा बोल्ने फिल्म ‘राज्जा रानी’मा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनको प्रमुख भूमिका छ । आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्देशित यो फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।
यस्तै, गाउँबाट शहर पसेपछि सुरु हुने एक युवकको संघर्षको कथा फिल्म ‘फिर्के’ले बोल्छ । फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

