
नेपाली कथामा निर्माण भएको अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाण्डू’को नेपाल छायांकन सकिएको छ । बाँकी रहेको फिल्मको करीब १० प्रतिशत छायांकन भने अमेरिकाको लस एन्जल्समा हुुने विहिबार फिल्म निर्माण कम्पनी ट्रीसिटी पिक्चर्सले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दियो । क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका निर्माता नकिम उद्दिनले फिल्मको बजेट पाँच करोड रहेको बताए ।
‘कागबेनी’ र ‘सानो संसार’ले थालेको डिजिटल यात्रा ‘द म्यान फ्रम काठमाण्डू’सम्म आइपुग्दा नेपाली फिल्मले ऐतिहासिक फड्को मारेको निर्माता उद्दिनले बताए । ‘भारतीय, पाकिस्तानी र हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी फिल्मको वितरणमा चासो व्यक्त गरेको छन् । भारतमा गुल्सन ग्रोवर र पाकिस्तानमा हमिद शेखमार्फत त्यहाँका कम्पनीले चासो देखाएका छन् । हलिउडमै सुटिङ र पोस्टप्रोडक्सन हुने भएकाले त्यहाँका कम्पनीले समेत रुचि देखाएका छन् ।’, निर्माता उद्दिनले भने ।
निर्देशक पेमा धोन्डुपले उद्दिनले निर्माण गरेको ‘कागबेनी’ हेरेपछि टीमअप गर्ने रुचि पलाएको बताए । तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको अनुभव सुनाए । फिल्मले अतिवादी इस्लामिक सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । नेपाल आइपुग्दा उसबाट हटेको उक्त अतिवादी सोचको कथा ‘द म्यान फ्रम काठमाण्डू’ हो ।
निर्माता समेत रहेका उद्दिनले पछिल्लो समय नेपाली फिल्मको ब्यापारमा देखिएको बढोत्तरीले लगानीका लागि आफूहरुलाई हौसला मिलेको बताए । फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।
कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअल स्टन्ट कोरियोग्राफी छ । निर्माता उद्दिनका अनुसार चाँडै फिल्मको नेपाल रिलिज मिति घोषणा गरिनेछ ।

