नाम चलेका हलिउड र बलिउडका कलाकारहरु आफ्नो सुरक्षाका लागि बडिगार्ड लिएर हिँड्छन् । उनीहरुलाई बडिगार्डको अत्यन्त आवश्यकता पर्छ । काहिँ कतै निस्कँदा फ्यानको भीड थामिनसक्नु हुने भएका कारण संसारका नाम चलेका सुपरस्टारहरु बडिगार्डलाई सँगसँगै लिएर हिँड्ने गर्छन् । यो शैली नेपालका केही स्टार कलाकारहरुले पनि फलो गरेका छन् ।
'ड्रिम्स' रिलिजताका हलमा जाँदा युवा स्टार अनमोल केसी बडिगार्डसहित पुगेका थिए । उनलाई त्यसबेला आवश्यकता पनि थियो । उनको बढ्दो लोकप्रियताले बडिगार्डको खाँचो देखिन्थ्यो । अनमोलको यो शैली पछिल्लो समय केही नेपाली नायकले पछ्याएका छन् । केही महिना अगाडि पत्रकार सम्मेलनमा बडिगार्ड लिएर इन्ट्री गर्दा नायक प्रदीप खड्काले खुब आलोचना खेप्नु परेको थियो ।
तर, 'ए मेरो हजुर २' को प्रिमियर र हलमा दर्शक भेट्न जाँदा निर्मात्री तथा निर्देशक झरना थापाले कलाकारको सुरक्षाका लागि बडिगार्ड उपलब्ध गराएकी थिइन् । यसको भने कुनै आलोचना भएन । सही ठाउँमा बडिगार्ड प्रयोग गर्दा आलोचनाभन्दा कलाकारले तारिफ नै बढी पाउने गर्छन् । तर, पछिल्लो समय नेपाली कलाकारले आवश्यकताभन्दा पनि शोअपका लागि बडिगार्ड प्रयोग गर्दै आइरहेका छन् । गएको हप्ता नायक कुशल थापाले पोखरामा ६ जना बडिगार्ड लिएर दर्शकमाझ पुगेको विषयले ठूलै चर्चा पाएको थियो ।
दर्शकमाझ खासै परिचित अनुहार होइनन् कुशल तर किन उनलाई बडिगार्ड आवश्यक पर्यो ? यो कुराले भने सबैलाई चकित बनाएको छ । पुष १४ गते प्रदर्शनमा आएको फिल्म 'ह्याप्पी न्यू ईयर'प्रति दर्शकको ध्यान तान्न कुशलले फन्डा स्वरुप बडिगार्ड शोअप त गरे तर यसले उनलाई नाफाभन्दा धेरै घाटा भएको छ ।
कशुलले ६ जना बडिगार्डलाई प्रति व्यक्ति १० हजार पारिश्रमिक त पक्कै दिएका छन् । यो हिसाबले उनले बडिगार्डका लागि मात्र ६० हजार खर्च गरे । यति कमाउन फिल्मले १ लाख २० हजारको कलेक्सन गर्नुपर्छ । के 'ह्याप्पी न्यू ईयर'ले यति कमायो ? अहिले चिया पसलदेखि फिल्म स्टूडियोसम्म यही बहस सुनिन्छ । बडिगार्ड काण्डले फिल्मलाई मात्र होइन कुशलको करिअरलाई समेत ठूलो धक्का दिएको छ ।
निखिल उप्रेती, विराज भट्ट, रेखा थापा, भुवन केसी, राजेश हमाल जस्ता नाम चलेका कलाकारले आजसम्म बडिगार्ड लिएर हिँडेको सुनिएको छैन । केहीदिन चर्चाका लागि बडिगार्ड लिएर हिँड्ने कलाकारले भोली माक्स लगाएर हिँड्नु पर्ने दिन आए के हुन्छ ? यो पनि सोच्ने कि ?
बडिगार्ड लिएर हिँड्दैमा फिल्म हिट हुने भए बलिउड स्टार शाहरुख खान अभिनीत फिल्म 'फ्यान', 'रईस', 'जब ह्यारी मिट सेजल' फ्लप हुन्न थिए । सलमान खानको 'ट्युबलाइट' बक्स अफिसमा असफल हुँदैन थियो । यो कुरा बुझ्न नेपाली निर्माता तथा कलाकारले आवश्यक छ । फिल्म क्षेत्रमा स्क्यान्डल नै विक्ने हो तर अतिरन्जित स्क्यान्डलले आफैंलाई नै घाटा पुर्याउँछ भन्ने सोच्न पनि नेपाली कलाकारले आवश्यक देखिन्छ ।
बडिगार्ड लिएर हिँडेपछि आफूलाई स्टार सम्झने 'मपाई' सोच नेपाली नायकमा पछिल्लो समय अलि बढी नै देखिएको छ । तर, वास्तविकता के बुझ्न आवश्यक छ भने कोहिँ पनि कलाकार बडिगार्ड लिएर हिँड्दैमा स्टार हुँदैन । जसले दर्शकको मन जित्छ उसलाई बडिगार्डको खाँचो पर्दैन ।