.jpg)
नायक नाजिर हुसेन र नायिका केकी अधिकारी अभिनीत फिल्म ‘राज्जा रानी’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । दाईजो प्रथा विरुद्धको आवाज बोल्ने बताइएको यो फिल्मको प्रचार-प्रसारलाई यतिबेला निर्माण पक्षले आक्रामक बनाएको छ । केहीदिन अगाडि मात्र मोफसल टुर सकाएर काठमाडौं फर्किएका नाजिर (राज्जा) र केकी (रानी)ले मंगलवार काठमाडौंका दर्शकँग भेट गरे ।
पिंगलास्थान नजिकै रहेको खाली चौरमा फिल्म निर्माण टीमले ‘राज्जा रानी’को विषयमा जानकारी दिन कन्सर्ट आयोजना गरेको थियो । सयौं युवा-युवतीको उपस्थिति रहेको कन्सर्टमा केकी र नाजिरले जमेरै रमाइलो गरे । केकीले मैथिली गीत गाइन् भने 'चिपक चिपक' बोलको गीतमा नाजिरसँग ठुम्का पनि लगाइन् । कन्सर्टमा केकी र नाजिरका फ्यानहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
.jpg)
दर्शकलाई मनोरञ्जन दिने क्रममा नाजिरले एक्कासी केकीलाई जुरुक्कै बोके । केकी पनि नाजिरले बोक्दा खुब हाँसेकी थिइन् । नाजिर र केकीलाई आँखै अगाडि देख्दा दर्शकहरु भने मख्ख देखिन्थे । केहीबेर यो जोडी कन्सर्टमा उपस्थित दर्शकको सेल्फीमा पनि रमाए । यो फिल्म मैथिली र नेपाली दुवै भाषामा रिलिज हुँदैछ ।
आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्देशित यो फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्जको पठारमा गरिएको हो । प्रेमकथामा आधारित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।
.jpg)
फिल्ममा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।
तश्विर : गणेश बस्याल

