मानिसको जिन्दगीमा सु:ख र दु:ख भनेको दुई दिनको घाम-छाँया हो र त्यो दुई दिनको घाम-छाँयामा मानिसहरुले अनगिन्ती गल्ती र राम्रा कामहरु गरिरहेका हुन्छन् । एउटा नराम्रो कामले पनि मानिस बदमान हुन सक्छ भने एउटा असल कामले उसको जिन्दगीमा धेरै परिवर्तन आउँछन् ।
मानिसले जिन्दगीमा अनगिन्ती दु:खहरु गर्नुपर्छ । कोहि यो दु:ख र सु:खसँग घम्सा-घम्सी गर्न नसकेर जिन्दगीबाट टाढा भाग्छन् त कोही यिनै दु:ख र सु:खलाई आत्मसाथ गरेर संसारमा एउटा उदारहणीय व्यक्ति बन्छन् । यस्तै, एक उदारहणीय व्यक्ति हुन्- निर्माता तथा कलाकार सुलेमान शंकर 'ईकु' ।
उनले जीवनमा भोगका दुःखहरु कम दर्दनाक छैनन् । सुःखको अनुभुती पनि उनले राम्रै महशुस गरेका छन् । 'ईकु' फिल्म बनाएर आफ्नै परिचय नै बदलेका सुलेमान शंकर अभिनीत नयाँ फिल्म 'फिर्के' यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई उनी आफैंले निर्माण समेत गरेका हुन् । 'ईकु'को सफलतापछि उनले 'ईकु ब्याक अगेन' निर्माण गरे । तर, बक्स अफिसमा यो फिल्म नमज्जाले चिप्लियो । यो फिल्मको अफलताका कारण 'ईकु'ले जीवनमा यति धेरै संघर्षको सामना गर्नुपर्यो कि जसले गर्दा उनले जिन्दगीबाट नै हार खाएका थिए ।
'ईकु २' का निर्माताहरुले उनलाई नेपाल बस्न समेत नदिने अवस्थामा पुर्याएका थिए । फिल्मीखबर डटकमसँगको एक भेटमा सुलेमानले भने, 'त्यसबेला मलाई बाँच्न नै मन लागेको थिएन । धेरै अपशब्दहरु सुनेँ, जुन मेरो आमा-बुबाले पनि भन्नुभएको थिएन । मैले 'ईकु २' साथी-भाईसँग मिलेर निर्माण गरेको थिएँ । तर, त्यही साथी-भाईले 'ईकु २' असफल भएपछि मलाई मर्नु न बाँच्नु अवस्थामा पर्याए । म तिर्दैछु अझैसम्म पनि उहाँहरुको पैसा । यहाँ सबैले बलेकै आगो ताप्ने रहेछन् ।'

यो अवस्थाबाट गुज्रिदै गर्दा उनले अर्को चोटको सामना गर्नुपर्यो । उनको श्रीमतीसँग डिभोर्स भयो । 'मैले उहाँलाई तीन पटकसम्म माफी दिएको थिएँ । मैले उहाँलाई केहीपटक होटलबाट समेत लिएर आएको थिएँ । तर, उहाँले त्यो कुरालाई आत्मलोचना गर्नुभएन । त्यसपछि हाम्रो डिभोर्स भयो ।', ईकुले गम्भीर मुद्रामा भने । अहिले उनको जीवनलाई हेर्ने परिभाषा बदलिएको छ ।
उनी भन्छन्, 'जीवन एउटा रफ्तार हो, संघर्ष हो । म अझै पनि संघर्ष गरिरहेको छु । जिन्दगी एउटा यात्रा हो । यात्रामा धेरै मानिससँग भेट हुन्छ । एकदिन त्यो यात्रा कहाँ गएर टुंगिन्छ त्यो आफैंलाई नै थाहा हुँदैन ।' उनी अहिले १२ जना भूकम्प पीडित बालबालिकाको अभिभावक भएर स्याहार सुसार गरिरहेका छन् । उनी अगाडि थप्छन्, 'अहिले म खुसी छु ।'
सुलेमान अभिनीत तथा निर्मित फिल्म 'फिर्के'लाई रवि डंगोलले निर्देशन गरेका हुन् । यो फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

