
यस वर्ष प्रदर्शनमा आएको फिल्म 'ट्युबलाइट'बाट नमज्जाको असफलता हात पारेका बलिउड स्टार सलमान खानलाई हाल प्रदर्शनरत फिल्म ‘टाइगर जिन्दा हे’ले पुनः भारतीय फिल्मको 'सुल्तान' प्रमाणित गरेको छ । प्रदर्शनको तीन दिनमा सय करोडको विजनेश गरेको यो फिल्मले भारतीय बक्स अफिसमा मात्र एक हप्तामा दुई सय करोड कमाई गर्न सफल भएको छ ।
प्रदर्शनको पहिलो दिन ३४.१०, दोस्रो दिन ३५.३०, तेस्रो दिन ४५.५३, चौथो दिन ३६.५४, पाँचौ दिन २१.६०, छैटौ दिन १७.५५ र सातौ दिन १५.४७ करोड कमाउँदै यो फिल्मले एक हप्तामा कूल २०६.०४ करोड कलेक्सन गरेको छ । ‘टाइगर जिन्दा हे’ अब ३ सय करोड क्लबको दौडमा लागेको छ ।
भारतीय फिल्म विश्लेषकका अनुसार, यही रफ्तारमा दर्शकको 'फ्लो' रहिरहे फिल्मको लाइफटाइम कलेक्सन साढे ३ सय करोडसम्म हुनेछ । निर्देशक अली अब्बाकज जफरको यो फिल्मबाट करीब ५ वर्षपछि सलमान र कैटरीना कैफको जोडीले 'विग स्कृन'मा कमब्याक गरेको हो ।
फिल्मलाई दर्शकसँगै क्रिटिक्सले समेत उतिक्कै तारिफ गरेका छन् । केही दिनमै अंग्रेजी नयाँ वर्ष पनि सुरु हुने भएका कारण ‘टाइगर जिन्दा हे’को कलेक्सन थप बढ्ने भारतीय मिडियाले बताएका छन् । यो फिल्मको तेस्रो सिक्वेलको समेत घोषणा भइसकेको छ ।

