.jpg)
पुष १४ गते अर्थात्, आज स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको जन्मदिन । २०२७ पुष १४ गते जन्मिएका श्रीकृष्णको २०७१ साउन २५ गते हाडको क्यान्सरका कारण भारतमा निधन भएको थियो । प्रत्येक वर्ष श्रीकृष्णको जन्मदिनमा उनकी श्रीमती तथा अभिनेत्री श्वेता खड्काले समाज सेवा गर्दै आइरहेकी छिन् ।
यसपटक भने श्वेताले युट्युबमा एक भिडियो अपलोड गर्दै श्रीकृष्णलाई भावुक श्रद्धाञ्जली दिएकी छिन् । उनले भिडियोमा भनेकी छिन्, 'म तिम्रो कला यात्रामा हिँडेका पैतालाका डाबहरु पछ्याउँदै हिँडिरहेकी छु । तिम्रो आर्शिवादले सबैको साथ र माया पाएकी छु । फेरि नयाँ जीवन पाएकी छु ।'
भिडियो :-
श्रीकृष्णसँग श्वेताले २०७१ साल असार २३ गते लगनगाँठो कसेकी थिइन् । यी दुईले 'कहाँ भेटिएला' र 'कोहिनूर' फिल्म एकसाथ गरेका थिए ।
श्रीकृष्णको निधनपछि लामो समयसम्म शोकमा डुबेकी श्वेताले 'कान्छि'मार्फत पुनः नेपाली फिल्ममा कमब्याक गरेकी छिन् । उनी अभिनीत तथा निर्मित फिल्म 'कान्छी' फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

