Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन चल्नुपर्छ केकी र नाजिरका लागि ‘राज्जा रानी’ ?

फिल्मीखबर, काठमाण्डौ, 2017/12/27
 
यही पुष २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म हो-‘राज्जा रानी’। 'होस्टेल रिर्टन्स'बाट नेपाली रजतपटमा प्रवेश गरेका नायक नाजिर हुसेन र 'स्वर' फिल्मबाट भित्रिएकी नायिका केकी अधिकारी अभिनीत फिल्म ‘राज्जा रानी’ लभस्टोरी र सन्देशमुलक रहेको निर्माणपक्षको दाबी छ । फिल्ममा नाजिर र केकीका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
'वितेका पल', 'भाग् सानी भाग्', 'घामपानी', 'लभ साशा', 'श्री ५ अम्बरे', 'मसान', 'आई एम सरी' लगायत दर्जन बढी फिल्ममा अभिनय गरेपनि केकीका फिल्मले अहिलेसम्म बक्स अफिसमा खासै ठूलो सुनामी ल्याउन सकेका छैनन् । प्रत्येक फिल्मबाट अभिनयको तारिफ पाएपनि उनी अभिनीत फिल्महरु प्रायः बक्स अफिसमा कमजोर साबित भएका छन् । अब केकीलाई भर भनेपनि आश भनेपनि फिल्म ‘राज्जा रानी’माथी नै छ । यो फिल्ममा उनी मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । 
 
त्यस्तै, नायक नाजिर हुसेनका लागि पनि ‘राज्जा रानी’ व्यवसायिक रुपमा सफल हुन अत्यन्त आवश्यक छ । 'होस्टेल रिर्टन्स'मा उनले निर्वाह गरेको मधेशी पात्रको भूमिकालाई दर्शकले खुब रुचाए । त्यसपछि उनले 'वीर विक्रम', 'गाँठो', 'तिमीसँग' फिल्ममा काम गरिसकेका छन् । 'वीर विक्रम'मा सहायक भूमिका भएपनि 'गाँठो'मा नाजिर लिड रोलमा प्रस्तुत भए । तर, कमजोर प्रस्तुती र कथावस्तुका कारण फिल्म असफल भयो । 'तिमीसँग' यही वर्षको चैत २३ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
‘राज्जा रानी’मा नायिका केकी अधिकारीसँग रोमान्स गरेका नाजिरका लागि यो फिल्मको बक्स अफिस कलेक्सनले उनको फिल्मी करिअरको आगामी भविष्य निर्धारण गर्छ भन्नु सायद गलत नहोला । यो फिल्मको ट्रेलर र एक गीत रिलिज भैसकेको छ । 'चिप्पक चिप्पक' बोलको गीतलाई अहिले दर्शकहरुले निकै रुचाइरहेका छन् । 
 
आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्देशित यो फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्जको पठारमा गरिएको हो । ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । यो फिल्म नेपाली र मैथिली भाषामा एकसाथ प्रदर्शनमा आउँदैछ ।
Most Visited News (monthly)