
'फिल्म कि भगवान भरोसाले चल्छ कि सलमान भरोसाले', हो यो स्लोक अहिले बलीउडमा धेरैले भन्ने गर्छन् । उमेरले ५० वर्ष नाघेपनि बक्स अफिसमा सलमानको जादु उमेरसँगसँगै बढ्दै छ ।
पछिल्लो केही वर्षयता जुन फिल्मले ब्यापारमा एकसय करोड पार गर्छ, त्यसैलाई सुपरहिट मान्ने चलन छ ।
सय करोड क्लबको यस खेलमा सलमान खान सबै भन्दा प्रभावशाली देखिएका छन् । आजसम्म सलमान अभिनीत ११ वटा फिल्मले एकसय करोड भन्दा धेरै ब्यापार गरेका छन् । यो सूचीमा सलमानको अर्को फिल्म पनि सामेल भएको छ, ‘टाइगर जिन्दा हे’ । शुक्रवारबाट प्रदर्शनमा आएको यो फिल्म तीन दिनमै सय करोड क्लबमा प्रवेश गरेको छ ।
पहिलो दिन ३४.१०, दोस्रो दिन ३५.३० र तेस्रो दिन ४५.५३ करोड कलेक्सन गर्दै ‘टाइगर जिन्दा हे’ यस वर्षको सबैभन्दा चाँडो सय करोड क्लबमा इन्ट्री हुने पहिलो फिल्म बनेको छ । ट्रेड एनलिस्ट तरण आदर्शका अनुसार, फिल्मले तीन दिनमा कूल ११४.९३ करोड कमाएको छ ।

यसै वर्ष प्रदर्शनमा आएको फिल्म 'ट्यूबलाइट' बक्स अफिसमा असफल भएपछि यो फिल्मलाई सलमानको करिअरको टर्निङ प्वाइटको रुपमा हेरिएको थियो । समीक्षक र दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको ‘टाइगर जिन्दा हे’मा सलमान र कैटरीना कैफको मुख्य भूमिका छ ।
अली अब्बास जफर निर्देशित यो फिल्ममा सज्जाद डेलाफ्रूज, अंगद बेदी, कुमुद मिश्रा, गिरीश कर्नाडको पनि प्रमुख भूमिका छ । विशाल-शेखरको संगीत रहेको फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । ‘टाइगर जिन्दा हे’को तेस्रो सिक्वेलको समेत निर्माण घोषणा भइसकेको छ ।

