आफू अभिनीत फिल्म हिट भएर पनि आफ्नो कुनै चर्चा नहुँदा एउटा कलाकारलाई कस्तो छटपटी हुन्छ होला ? अझ, फिल्मी करिअरमा सिढी लगाउने डेब्यू फिल्म सुपरहिट भएर पनि आफू भने गुमनाम जस्तै हुँदा त्यसको छटपटी आलो घाउमा नुन-खुर्सानी लगाउनुभन्दा कम्ता हुँदैन ।
चाहे छोटो होस् वा मख्य भूमिका नै किन नहोस् प्रत्येक कलाकारलाई डेब्यू फिल्म विशेष हुन्छ । झन हिट नै भयो भने त कलाकार हुन् वा निर्देशक पहिलो फिल्मको नाम भजाएर फुर्ती लगाउन समेत पछि पर्दैनन् । तर, नायिका सन्ध्या केसीका लागि भने आफ्नो डेब्यू फिल्म देखाउने दाँत मात्र बन्न पुग्यो तर चपाउने बलियो दाँत नै पाइनन् ।
युवा स्टार अनमोल केसीको मख्य भूमिका भएका कारण फिल्म 'ड्रिम्स' सुपरहिट त भयो तर त्यसको सम्पूर्ण सफलताको श्रेय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो पोल्टामा पारिन् । यसबाट सन्ध्यालाई डेब्यू फिल्मको छाप मात्र लाग्यो । त्यसैले त उनी 'ड्रिम्स'लाई आफ्नो डेब्यू मान्दिनन् । दर्शकले 'ड्रिम्स'मा अनमोल र साम्राज्ञीलाई मात्र 'वाच' गरेर होला सन्ध्या पर्दामै विलय भईन् ।
उनी आफू अभिनीत नयाँ फिल्म 'कमलेको बिहे'लाई डेब्यू भन्छिन् । 'ड्रिम्स'मा सन्ध्याको मुख्य भूमिका हुन्थ्यो भने उनले यतिबेलासम्म नेपालका चलेका नायिकाको सूचीमा आफ्नो नाम दर्ता गराइसकेकी हुनेथिइन् तर अझैपनि उनी एक हिट फिल्मको पर्खाइमा छिन् ।
उनी लिड रोलमा रहेका दुई फिल्म प्रदर्शनमा आउन बाँकी छन्, 'ह्याप्पी न्यू ईयर' र 'कमलेको बिहे' । उनले जुन फिल्मलाई आफ्नो डेब्यू भनेकी थिइन् त्यसभन्दा अगाडि 'ह्याप्पी न्यू ईयर' यही पुष १४ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मबाट उनलाई आफ्नो फिल्मी करिअर उकालो लाग्नेमा ठूलो आश छ । त्यसैले त प्रचारमा पनि उनले सकेसम्म समय छुट्याइरहेकी छिन् ।
'मिनी ऐश्वर्य'को रुपमा समेत चर्चित सन्ध्याका लागि 'ह्याप्पी न्यू ईयर' बक्स अफिसमा हिट साबित हुन अत्यन्त आवश्यक छ । यो फिल्म सफल भए सन्ध्याको पनि हिट नायिका बन्ने सपना पूरा हुनेछ नभए उनको गुमनाम यात्राको सुरुवात पनि यही फिल्मबाट सुरु हुनेमा दुईमत छैन ।