.jpg)
अन्ततः बलिउड सुपरस्टार सलमान खान नेपाल आउने भएका छन् । ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । सलमान झन्डै २३ वर्षपछि नेपाल आउन लागेका हुन् । आफ्नो फिल्मी करिअरको सुरुवातको समयमा उनी सन् १९९४ मा नेपाल आएका थिए ।
किन आउँदैछन् त सलमान नेपाल ?
हालैमा सलमानले ‘दबंग द टुर’ नाम दिइएको कन्सर्ट सुरु गरेका छन् । उनले दिल्ली, अष्ट्रेलिया, न्यूूजील्यान्ड र हङकङमा आफ्नो प्रस्तुती दिइसकेका छन् । यही टुर अन्तगर्त सलमान नेपाल आउन लागेका हुन् । केहीदिन अगाडि दिल्लीमा भएको ‘दबंग द टुर’मा ओडीसीका निर्देशक सीमान्त गुरुङसँग सलमानले भेट गरेका थिए ।
आयोजक संस्थाका अनुसार, नेपाल एक सुरक्षित पर्यटन क्षेत्र रहेको सन्देशसहित ‘दबंग द टुर नेपाल’को आयोजना गर्न लागिएको हो । सलमानको यो टुरलाई नेपाल पर्यटन बोर्डले पनि सहयोग गरेको छ । नेपालमा गएको विनाशकारी भूकम्प र नाकाबन्दीले देशमा भएको आर्थिक संकटलाई मध्येनजर गर्दै मनोरञ्जनको माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्नका लागि सलमानलाई नेपाल ल्याउन लागिएको स्रोत बताउँछ ।
कति दिने हुनेछ सलमानको नेपाल बसाई ?
फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, सलमान मुश्किलले दुईदिन मात्र नेपालमा रहनेछन् । केही मिडियामा आएको खबरअनुसार, उनी फागुन २५, २६ र २७ गते नेपालमा रहनेछन् । फागुन २६ गते शनिवार टुँडिखेलमा ‘दबंग द टुर नेपाल’ आयोजना हुन लागेको हो ।
स्रोतका अनुसार, सलमान फागुन २६ गते दिउँसो मात्र नेपाल ओर्लिनेछन् भने साँझ ७ देखि ८ बजेभित्रमा उनले हजारौं नेपाली प्रशंसकमाझ टुँडिखेलमा आफ्नो प्रस्तुती दिनेछन् । स्टेज चढ्नुअघि सलमानसहित अन्य कलाकारले रिहर्सल पनि गर्नेछन् ।
फागुन २७ गते विहान पशुपति मन्दिर र हेलिकोप्टर चार्टर गरेर संसारकै अग्लो शिखर सगरमाथाको उनलाई भ्रमण गराउने तयारीमा आयोजक संस्था छ । सलमानले पनि पशुपति मन्दिर र सगरमाथाको भ्रमण गर्ने इच्छा देखाएका छन् ।

सलमानसँग को-को आउँदैछन् नेपाल ?
उनीसँगै कार्यक्रममा बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पलपनि सहभागी हुनेछन् । कार्यक्रमको सञ्चालन मनिषले गर्नेछन् ।
३ देखि १० हजार मुल्यसम्मको टिकट उपलब्ध हुने ‘दबंग द टुर नेपाल’ शोको खर्च १५ करोडको आसपासमा हुने ओडीसी निर्देशक गुरुङको अनुमान छ । सलमानको सुरक्षाका लागि नेपाली सेना र प्रहरीको संयुक्त टोली र आयोजक संस्थाले सयौं बडिगार्ड खटाउने तयारी गरेको छ । करीब ३ घण्टाको स्टेज शोमा ५० हजार दर्शक उतारिने आयोजक संस्था ओडीसीले जानकारी दियो ।
यसकारण सम्भव भयो सलमानको नेपाल टुर
सलमानको नेपाल भ्रमण हुने वा नहुने भन्ने विषयमा अनेकौं शंका उब्जिएका थिए । केहीदिन अघि ओडीसी कम्पनीले सलमानसहितका कलाकारलाई दिनुपर्ने पारिश्रमिक भुक्तानीका लागि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमती माग्दै निवेदन दिएको थियो ।
राष्ट्र बैंकमार्फत आयोजक संस्था ओडीसीले सलमानसहित अन्य कलाकारलाई दिनुपर्ने रकम सटही गरिसकेको छ । केहीदिन भित्रमा नै सलमानका भाई तथा अभिनेता सोहिल खान कन्सर्ट हुने स्थान, बस्ने होटल, शुरक्षा लगायतका विषयबारे बुझ्न नेपाल आउने तयारीमा छन् । ‘दबंग द टुर’ को सम्पूर्ण जिम्मेवारी 'सोहिल खान इन्टरटेन्मेन्ट'ले लिएको छ ।

