
पछिल्लो समय नेपाली फिल्मको प्रचारमा फरक-फरक अस्त्र प्रयोग हुन थालेका छन् । कहिले कभर गीत प्रतियोगिता, कहिले फिल्मी युनिटको मोफसल यात्रा त कहिले कन्सर्ट । पुष ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्याप्पी न्यू ईयर’ले पनि यतिबेला मोफसलका मुख्य शहरमा कन्सर्ट गरिरहेको छ ।
फिल्मको पहिलो कन्सर्ट हेटौंडाको खासा बजारमा गरिएको छ । उक्त कन्सर्टमा उल्लेख्य दर्शकको उपस्थिती रहेको थियो । फिल्मका नायक तथा निर्माता कुशल थापाले नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरे ।
गायक विनोद ढकाल कार्यक्रमको मुख्य आकर्षण बनेका थिए । कन्सर्टमा उनले युथ ओरिएन्टेड डान्सिङ गीत गाएर दर्शक झुमाए । ‘ह्याप्पी न्यू इयर’ को शीर्ष गीतमा समेत उनको शब्द तथा संगीत रहेको छ ।
‘हेलो डियर, ह्याप्पी न्यू ईयर’ भन्ने स्लोगनसहित निर्माण टिमले दर्शकसँग सांगीतिक साक्षात्कार गरेको हो । पौष ५ गते नारायणगढ, ६ गते बुटवल, ८ गते पोखरा हुँदै १० गते काठमाडौंका विभिन्न ठाउँमा कन्सर्ट हुनेछ ।
.jpg)
‘ह्याप्पी न्यू ईयर’लाई देवकुमार श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । फिल्मको छायांकन अष्ट्रेलियन नागरिक बेन्जामिन ड्रेले गरेका हुन् । फिल्मलाई नायक कुशलकी श्रीमति रती थापाले निर्माण गरेकी हुन् । लभस्टोरी कथामा निर्मित यो फिल्ममा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ ।

