यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’ माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । 'गाजलु'पछि पर्दामा नदेखिएका कारण पनि युवा स्टार अनमोल केसी अभिनीत यो फिल्मतर्फ सबैको ध्यान केन्द्रित भएको छ । यसअघिका चार फिल्ममा रोमान्टिक हिरोको रुपमा प्रस्तुत भएका अनमोल यो फिल्ममा रोमान्टिकसँगै एङ्ग्री अवतारमा पनि देखिएका छन् ।
शुक्रवार साँझ सार्वजनिक भएको फिल्मको ट्रेलरले नै फिल्मप्रति दर्शकको उत्सुकता झन बढाएको छ । यो फिल्मको धेरैपटक प्रदर्शन मिति घोषणा भएको थियो तर अन्ततः माघ २६ गतेबाट भने ‘कृ’ देशैभर प्रदर्शनमा आउँदैछ । अनमोल आफैं पनि अब दर्शकको प्रतिक्षाको घडि लम्ब्याउन चाहन्नन् ।
यसअघि यो मितिमा फिल्म ‘कान्छी’ प्रदर्शनमा आउने कुरा थियो तर ‘कृ’ पनि यही मितिमा रिलिज हुने भएपछि निर्मात्री तथा नायिका श्वेता खड्काले आफ्नो फिल्मलाई फागुन ४ मा पुर्याइन् । खबरअनुसार, यो मितिमा भारतको सर्वाधिक बहुप्रतिक्षीत फिल्म ‘पद्मावती’ पनि प्रदर्शनमा आउने चर्चा छ । शुक्रवार ‘कृ’ ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलका पिता तथा नायक भुवन केसीले आफू विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सधै तयार रहेको बताए ।
‘कान्छी’सँग लड्न तयार हुनुभयो, ‘पद्मावती’सँग चाहिँ प्रतिस्पर्धा गर्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा भुवनले भने, ‘मैले अत्यन्त माया गरेको बहिनी श्वेता खड्काको फिल्म माघ २६ मै आउने कुरा थियो । तर, भुवन दाई, ‘कृ’ टीम र दर्शकलाई मध्येनजर गर्दै फिल्म नजुधाई ‘म आफू नै सर्छु’ भन्ने निर्णय गरेमा श्वेतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । श्वेताको फिल्मका लागि पनि म शुभकामना दिन चाहन्छु ।’
‘हामीले पहिला नै माघ २६ गतेको डेट फाइनल गरिसकेका थियौं । हामी जानी-जानी कसैसँग जुध्न गएका चाहिँ थिएनौं । तर, श्वेता बहिनीको कारणले यो परिस्थिति पनि टर्यो । मैले यसअघि पनि भन्ने गरेको थिएँ कि हाम्रो प्रतिस्पर्धा विदेश फिल्मसँग मात्र हो, नेपाली फिल्मसँग होइन । त्यसैकारण जुनसुकै हिन्दी फिल्म आएपनि हामी प्रतिस्पर्धा गर्न तयार छौं ।’, भुवनले भने ।
सुरेन्द्र पौडेल निर्देशित ‘कृ’लाई सुवास गिरी र भुवन केसीले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा अनमोलसँगै अदिती बुढाथोकी, कामेश्वर चौरासिया, सरोज खनाल, अनुपविक्रम शाही लगायतका कलाकारहरुको अभिनय छ ।