दुई दिने कार्यशालाका लागि बुधबार नेपाल आएका बलिउड लेखक अन्जुम राजाबलीले स्क्रिप्ट राइटिङ फिल्मको मेरुदण्ड रहेको बताए । राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राजाबलीले भने, ‘जोकमा पनि पटकथाको संरचना हुन्छ । हरेक व्यक्तिमा अनुभव, भोगाइ र कथा हुन्छ । त्यसलाई प्रस्तुत गर्ने शैली पनि सबैमा हुन्छ । तर, आकर्षक र कलात्मक रुपमा कसरी लेख्ने ? त्यसका लागि भने सिक्नै पर्छ ।’
‘भारत संसारकै सबैभन्दा बढी फिल्म निर्माण गर्ने उद्योग हो । हलिउडमा ७ सयको हाराहारीमा फिल्म निर्माण हुन्छन् तर भारतमा १२ सय ५० फिल्म वर्षेनी निर्माण हुन्छन् । तर, कतिवटा भारतीय फिल्म हेर्न लायक हुन्छन् ? कतिले राम्रो व्यापार गर्छन् ? यी सबै फिल्म असफल भएका होइनन् पटकथा असफल भएका हुन् ।’, उनले भने ।
कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणामा उनी प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको हलमा हुने दुईदिने कार्यशालाका लागि काठमाडौं आएका हुन् । बिहीबार र शुक्रबार हुने कार्यशालामा अन्जुमले पटकथा लेखन सम्बन्धी प्रशिक्षण दिनेछन् ।
राजाबलीले राम्रो फिल्म बन्नमा ५० प्रतिशत हात पटकथाको रहने बताए । अन्जुम दक्षिण एसियाकै उत्कृष्ट फिल्म स्कुल विस्लिङउड इन्टरनेसनलका स्क्रिप्ट राइटिङ हेड र फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाका स्क्रिप्ट राइटिङ विभाग प्रमुखसमेत हुन् ।
उनले ‘सत्याग्रह’, ‘चक्रव्यूह’, ‘गुलाम’, ‘कच्चे धागे’, ‘आरक्षण’, ‘राजनीति’, ‘अपरहण’, ‘द लेजेन्ड अफ भगत सिंह’, ‘चाइना गेट’ लगायतका बलिउड फिल्म लेखेका छन् ।