
मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण चर्चामा रहेका कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएनन् । मंसिर १ गते 'झ्यानाकुटी' र २२ गते फिल्म 'दिपज्योती' हलमा लागेपनि यी दुवै फिल्मले दर्शकको साथ पाएनन् ।
चुनावको चेपुवामा पर्ने डरले निर्माताहरु कुना पस्दा मंसिर महिनामा हल सञ्चालकहरुले पूराना नेपाली र भोजपुरी फिल्म चलाउन बाध्य भएका छन् । तर, यस महिनाको अन्तिम साता अर्थात्, मंसिर २९ गते भने झन्डै चार फिल्म एकसाथ प्रदर्शनमा आउँदैछन् ।
विवाहपछि कमब्याक गरेकी नायिका ऋचा सिंह ठकुरी स्टारर फिल्म 'सुपर गोर्खे', भूकम्पको कथामा निर्माण भएको 'माई लभ' र दीलिप रायमाझी अभिनीत फिल्म 'गोरे' यो मितिमा एकसाथ प्रदर्शन हुँदैछन् । यस्तै, मंसिर २९ मा ‘डेस्टिनेशन काठमाण्डौ’ पनि प्रदर्शनमा आउने चर्चा छ ।
यो फिल्ममा झरना थापा र दीलिप रायमाझीको अभिनय छ । यदी ‘डेस्टिनेशन काठमाण्डौ’ पनि मैदानमा उत्रिए मंसिर २९ गते चार फिल्मको महासंग्राम हुनेछ । पुष पहिलो साता सलमान खान स्टारर फिल्म 'टाइगर जिन्दा हे'ले भने नेपाली हलमा सोलो रिलिजको मौका पाएको छ ।

