
अभिनेता सैफअली खानकी छोरी सारा अलि खानको डेब्यु फिल्म ‘केदारनाथ’को पहिलो चरणको छायांकन सकिएको छ । सारासँग यो फिल्ममा बलिउड अभिनेता सुशान्त सिंह राजपूतले रोमान्स गर्दैछन् ।
हालैमा फिल्मको निर्माण टीमले ‘केदारनाथ’का लागि मुम्बई फिल्म सिटीमा करीब १२ करोड रुपैयाँ खर्च गरेर एउटा भव्य सेट तयार गरेको छ । सो सेटमा केदारनाथ मन्दिर र वरपरको वस्तुस्थितिको झल्को दिने प्रयास गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
फिल्ममा केही वर्षअघि उत्तराखण्डमा आएको बाढीको तहसनहसको बेलाको एक जोडीको प्रेमकथा प्रस्तुत गरिएको छ । बाढीको दृश्य केदारनाथमा खिच्न सम्भव नभएकाले सेट लगाउनुपरेको निर्माता तथा निर्देशक अभिषेक कपुरले बताएका छन् । यो फिल्मको निर्माता प्रेरणा अरोरा पनि हुन् ।
‘केदारनाथ’ २१ डिसेम्बर २०१८ मा प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई निर्माण बालाजी मोशन पिक्चर्स, टी-सीरीज, क्रिअर्ज इन्टरटेन्मेन्ट र गाइ इन द स्काई पिक्चर्सले संयूक्त रुपमा निर्माण गरेको हो ।

