
'ए मेरो हजुर २' बाट नेपाली रजतपटमा भित्रिएका चकलेटी नायक सलिनमान बनियाँ अहिले गुपचुप जस्तै छन् । प्रत्येक नायक आफ्नो डेब्यू फिल्म हिट भएपछि निकै व्यस्त रहने गर्छन् तर सलिनमानको भने 'ए मेरो हजुर २' रिलिजपछि कुनै चर्चा सुनिएको छैन ।
डेब्यू फिल्मबाटै सम्भावना बोकेको नायकको रुपमा हेरिएको सलिनमानले हालैमा अनलाइन कपडा पसल सुरु गरेका छन् । उनले ‘बनमनिया’ नामक अनलाइन कपडा पसल संचालनमा ल्याएका हुन् । सलिनमानले सुरु गरेको अनलाइन सपिङ पसलमा पुरुषको लागि ब्रान्डेड कपडाहरु पाइन्छ ।
सलिनले महिलाभन्दा पुरुषले पाउने कपडाहरु पाउन मुश्किल भएका कारण आफूले अनलाइन कपडा पसल सञ्चालन गरेको बताए । उनले भने, 'पुरुषको पहिरनलाई मध्येनजर गर्दै ‘बनमनिया’ सञ्चालनमा ल्याएको हुँ । यहाँ अन्यको तुलनामा महंगो अवश्य पर्छ तर, क्वालिटीमा कम्परमाइज हुने छैन ।'

उनका अनुसार, इन्स्टाग्राम र फेसबुकमा Banmania बाट कपडा अर्डर गर्न सकिनेछ । सलिनको पहिरन र हेयर स्टाइलको चर्चा खुब हुने गर्छ ।
'ए मेरो हजुर २' पछि लाखौं पारिश्रमिकसहित फिल्मको अफर अस्वीकार गर्दै आइरहेका सलिनमानलाई अनलाइन कपडा पसलले कति सफलता दिनेछ त्यो भने भोलीको दिनले छर्लङ पर्ला तर उनलाई तत्काल पर्दामा फर्किएको हेर्न चाहने दर्शकको भिड भने राम्रै छ ।

