बलिउड तथा थिएटरका चर्चित एक्टर शशि कपूरको सोमवार लामो समयको विरामीका कारण निधन भयो । मुम्बईको कोकिलाबेन अस्पतालमा उनले ७९ वर्षको उमेरमा अन्तिम सास लिए । शशि कपूरको निधनको खबर सुन्ने वितिक्कै सेलेब्सले ट्विटरमा उनलाई श्रद्धाञ्जली दिएका थिए ।
मंगलवार विहान १०ः३० बजे कोकिला बेन अस्पतालबाट उनको अन्तिम यात्रा निकालिएको थियो । शशि कपूरलाई राजकीय सम्मानबाट अन्त्येष्टी गरिएको छ । अन्त्येष्टीको बखत बलिउडसहित राजनीतिक क्षेत्रका चर्चित व्यक्तिहरु उपस्थित थिए । केन्द्रीय राज्य मन्त्री रामदास आठवले र महाराष्ट्र सरकारका केही मन्त्रीहरुले कपूरलाई अन्तिम श्रद्धाञ्जली दिए ।
मुम्बई पुलिसको एक टुकडीले शशि कपूरलाई अन्तिम सलामी दिएको थियो । शशि कपूरको पार्थिव शरीरलाई सांताक्रूजको श्मशान घाटमा अन्त्येष्टी गरिएको हो । सैफ अली खान, रणबीर कपूर, अनिल कपूर, नसीरुद्दीन शाह, रत्ना पाठक, ऋषि कपूर, अमिताभ बच्चन, अभिषेक बच्चन, राकेश ओम प्रकाश मेहरा, संजय दत्त जस्ता बलिउड कलाकारहरुले शशिलाई अन्तिम श्रद्धाञ्जली दिन आर्यघाटमा नै पुगेका थिए ।
शशिका भतिज ऋषि कपूर सोमवार राती नै आफ्नो नयाँ फिल्मको सुटिङ रोकेर अन्तिम श्रद्धाञ्जलीमा सहभागी हुन मुम्बई पुगेका थिए । मुम्बई पुलिसले अस्पतालको बाहिर निकै कडा सुरक्षा दिएको थियो । प्राप्त जानकारी अनुसार, सांताक्रूजको श्मशान घाटमा दिउँसो १२ बजे उनको अन्तिम संस्कार गरियो । शशि कपूरको निधनबाट अमिताभ बच्चन निकै दुखी छन् । उनले एक लामो स्टाटस लेख्दै शशिलाई याद गरे ।
अस्पतालमा शशि कपूरलाई हेर्न रणधीर कपूर, रणबीर कपूर, कृष्णा राज कपूर र कपूर फ्यामिलीका अरु पनि सदस्य पुगेका थिए । शशि कपूरलाई राष्ट्रपति रामनाथ कोविन्द, पीएम नरेन्द्र मोदी समेत कयौं राजनीतिक तथा बलिउड कलाकारहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
शशिले १६० भन्दा बढी फिल्ममा काम गरेका छन् । उनले १ दर्जन अंग्रेजी फिल्ममा समेत अभिनय गरेका छन् । उनको जन्म १८ मार्च १९३८ मा भएको थियो । ६० र ७० को दशकमा उनले 'जब-जब फूल खिले', 'कन्यादान', 'शर्मीली', 'आ गले लग जा', 'रोटी कपडा और मकान', 'चोर मचाए शोर', 'दीवार कभी-कभी' र 'फकीरा' जस्ता हिट फिल्म दिएका थिए ।
१९८४ मा पत्नी जेनिफरको क्यान्सरका कारण निधन भएपछि शशि कपूर निकै एक्लो रहने गरेका थिए र यसै कारण उनी अस्वस्थ हुँदै गएका थिए । विरामीकै कारण उनी फिल्मबाट पनि टाढा भएका थिए । वर्ष २०११ मा शशि कपूरलाई भारत सरकारले 'पद्म भूषण'बाट सम्मानित गरेको थियो ।
यस्तै, शशिले २०१५ मा 'दादा साहेब पुरस्कार' पनि प्राप्त गरेका थिए । आकर्षक व्यक्तित्वका धनी शशि कपूरको बाल्यकालको नाम बलबीर राज कपूर थियो । बलिउडमा आफ्नो अब्बल अभिनय र हँसिलो मुस्कानका कारण पनि कपूर निकै फेमस थिए । उनले १९६१ मा 'धर्मपुत्र'बाट लिड हिरोको रुपमा फिल्ममा पाइला राखेका हुन् ।