गएको आइतवार अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा प्रेमिका प्रतिमा बिमलीसँग लगानगाँठो कसेका नायक राजवल्लभ कोइरालाको रिसेप्सन पार्टीमा नेपाली फिल्मका सुन्दरीहरु सहभागी भएका छन् ।
अमेरिकामा नै आयोजना गरिएको राजवल्लभ र प्रतिमाको पार्टीमा नायिका त्रय अरुणीमा लम्साल, ऋचा घिमिरे, नन्दिता केसी र नायक त्रय मुकेश ढकाल, मुकेश आचार्य, विमलेश अधिकारी तथा निर्देशक प्रशन्न पौडेल लगायतका निम्तालुको उपस्थिती थियो ।
टिकाटालो भएको करीब ३ महिनापछि नायक राजवल्लभले आइतवार सधैका लागि प्रतिमालाई आफ्नो बनाएका हुन् । नायक कोइराला र प्रतिमा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको खबर छ । नेपाली फिल्मबाट पलायन भएको भनेर आरोप खेपिरहेका राजवल्लभलाई 'छ एकान छ'पछि दर्शकहरुले उनका फिल्म हेर्न पाएका छैनन् ।
'पर्खी बसें' फिल्मबाट नेपाली फिल्मक्षेत्रमा प्रवेश गरेका राजवल्लभले दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । उनले अभिनय गरेको हलीउड फिल्म ‘हाइवे टू धम्पुस’ २ वर्ष अगाडि प्रदर्शनमा आएको थियो ।