नेपालमा सुटिङ हुने भनेर चर्चामा रहेको ‘सन्दिप और पिंकी फरार’ अन्ततः नेपालको सेड्युलका लागि मंगलबार बैतडी आउने भएको छ । दिवाकर बनर्जीले निर्देशन गर्ने फिल्म नेपाल र भारतको सीमा क्षेत्रमा सुटिङ हुन लागेको हो ।
अर्जुन कपुर र परिणिति चोपडा अभिनित यो फिल्मको पहिलो सेड्युलको छायांकन नयाँदिल्लीमा सकिएको छ । फिल्मको दोस्रो सेड्युल नेपालसँग सीमाना जोडिएको उत्तराखण्डको पहाडमा रहेको सानो शहर पिथौरागढ र नेपालको बैतडी जिल्लास्थित झुलालघाट पुलमा खिचिनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका निर्माताले सुन्दरता, ग्रामीण परिवेश र पहुँचयोग्य स्थान भएकाले नेपाल र भारतको सीमाना छनौट गरेको बताएका छन् । फिल्म बन्ने भएपछि यशराज फिल्मस्ले गत अक्टोबरमा नेपालस्थित सरकारी निकायलाई यो स्थानमा फिल्म छायांकनका लागि अनुमति माग्न पत्र पठाएको थियो ।
नेपाल सरकारले पनि फिल्म युनिटलाई रोमान्टिक प्रेमकथाको फिल्म छायांकन गर्न केही सर्त राखेर अनुमति दिएको थियो । तर, ती सर्त के के हुन भन्ने केही खुलाइएको छैन ।
‘उनीहरुले नेपाल र भारतको सीमानामा फिल्मका लागि अति आवश्यक दृश्य खिच्नेछन् । निर्देशक दिवाकर यहाँ फिल्म खिच्न उत्साहित छन् । नेपालको ग्रामीण क्षेत्रमा फिल्मका लागि अत्यन्तै महत्वपूर्ण केही दृश्यहरू खिचिनेछ ’ फिल्ममा नेपालबाट आबद्ध एक सदस्यले भनेका छन् ।
पिथौरागढ र झुलालघाटमा डिसेम्बर ५ देखि डिसेम्बर ३० सम्म फिल्म खिचिनेछ । फिल्ममा नायिका परिणिति बैंक र फाइनान्समा काम गर्ने एक युवतीको भूमिकामा छिन् भने अर्जुन चाहिँ हरियाणाको एक पुलिसको भूमिकामा देखिँदैछन् । ५ वर्षअघि ‘इशकजादे’बाट एकै पटक डेब्यु गरेका अर्जुन र परिणितको सँगै दोस्रो फिल्म हो । ‘रोमिया जुलियट’ को भारतीय संस्करण मानिएको ‘इशकजादे’ बाट दुवैको अभिनयले प्रशंसा पाएको थियो । फिल्म सन् २०१८को मध्यतिर प्रदर्शन हुनेछ ।