Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चुनावको असर फिल्ममा

फिल्मीखबर, काठमाण्डौ, 2017/11/26
 
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनले यतिबेला देश तातेको छ । आइतवार पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन भइरहेको छ । तर, यसको प्रत्यक्ष असर भने नेपाली फिल्मलाई परेको छ । अन्य बेला प्रत्येक हप्ता नेपाली फिल्मको भिडन्त गज्जबकै हुने गर्छ तर मंसिर महिनाको सुरुवातदेखि नै सिनेमा हलहरु सुनसान देखिएका छन् । 
 
मंसिर विवाहको सिजन भएका कारण पनि फिल्म हेर्ने दर्शकको संख्या न्यून हुने गर्छ तर यसपटक निर्वाचनले नेपाली फिल्मको रिलिज र व्यापारमा निकै ठूलो असर पुर्‍याएको छ । मंसिर १ गतेबाट प्रदर्शनमा आएको सौगात मल्ल र बेनिशा हमाल अभिनीत फिल्म 'झ्यानाकुटी' निर्वाचनको चपेटामा नपरेपनि व्यापारमा ठूलो उपलब्धि हासिल हुन सकेन ।
 
मंसिर ८ गते निर्वाचनका कारण अन्य फिल्म प्रदर्शनमा नआएपछि 'झ्यानाकुटी' हाल दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ तर दर्शकको उपस्थिति पट्यार लाग्दो छ ।
 
यस्तै, मंसिर १५ र २२ गते नाम सुनिएका कुनैपनि फिल्म रिलिजमा आउने तयारीमा छैनन् । तर, मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिए लगत्तै भने मंसिर २९ गते दुई फिल्म एकसाथ मैदानमा उत्रिदैछन्, 'सुपर गोर्खे' र 'माई लभ' । 
 
'सुपर गोर्खे' ऋचा सिंह ठकुरी अभिनीत तथा निर्मित फिल्म हो भने 'माई लभ'लाई जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेका हुन् । यस्तै, पुष ७ गते शुक्रवार बलिउडस्टार सलमान खान स्टारर फिल्म 'टाइगर जिन्दा हे' प्रदर्शनमा आउँदैछ । आजसम्म बलिउडका खानसँग फिल्म जुधाउने आँट नगरेका नेपाली निर्माताले पुषको पहिलो हप्ता पनि सलमानलाई हल खाली छाडिदिएका छन् । 
 
सलमान खानको 'टाइगर जिन्दा हे' सोलो रिलिजमा उत्रिएपछि भने अन्य शुक्रवारदेखि नेपाली फिल्मको भाले जुधाई सुरु हुनेछ । यस वर्षको सबैभन्दा ठूलो भिडन्त माघ २६ गते अनमोल केसीको 'कृ' र दयाहाङ राई र श्वेता खड्का अभिनीत फिल्म 'कान्छी' बीच हुँदैछ । 
Most Visited News (monthly)