
बक्स अफिसमा असफल ठहरिएको फिल्म ‘झ्यानाकुटी’ले अगाडी ल्याएको फोटो कन्टेस्टको विजेतालाई नगद ५१ हजार हस्तान्तरण गरेको छ । ट्रेलर रिलिज गर्दा घोषणा गरिएको ‘झ्यानाकुटी फोटो कन्टेस्ट’ ले सेलिब्रेटीसम्मको साथ पाएको थियो । प्रिती चाउचाउसँगको सहकार्यमा ल्याइएको यस कन्टेस्टमा क्रिष्टिना अधिकारी र सजन ढकाल विजेता भएका छन् । राजधानीमा सञ्चालनमा आएको केकेएफसीमा ‘झ्यानाकुटी’ टीमले विजेताको नाम घोषणा गरेको हो ।
नोभेम्बर ४ मा क्रिष्टिनाले फेसबुकमा आफ्नो श्रीमान् सजनलाई बोकेको तस्वीर पोष्ट गरेकी थिइन् । उनको तस्वीरमा बाह्र सय भन्दा बढी लाइक प्राप्त भएको थियो भने ‘झ्यानाकुटी फोटो कन्टेस्ट’ का लागि राखिएको सम्पूर्ण शर्त पुरा भएको निर्माण टीमले जनाएको छ । समारोहमा फिल्मका नायक सौगात मल्ल, नायिका बेनिशा हमाल, निर्देशक सिमोश सुनुवार र लेखक प्रदीप भारद्वाजसंगै केकेएफसी संचालक चन्दन शाहले चेक हस्तान्तर गरेका थिए ।
प्रदर्शनमा आएको दुई दिनमा ‘झ्यानाकुटी’ले करोड ग्रस कलेक्सन गरेको बताएकी निर्मात्री नीशा अधिकारीको यो रिपोर्टलाई गलत प्रचार भनिएको छ । फितलो कथावस्तु, फिलतो निर्देशन र कमजोर प्रस्तुतिका कारण फिल्मले बलियो 'वर्ड अफ माउथ' पाउन सकेन । दोस्रो हप्तामा कुनैपनि फिल्म प्रदर्शनमा आएका कारण ‘झ्यानाकुटी’लाई धेरथोर राहत भने मिलेको छ ।

सिमोस सुनुवारले निर्देशन गरेको फिल्मलाई नायिका नीशा अधिकारी र सिमोसले संयूक्त रुपमा निर्माण गरेका हुन् । ‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

