
नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढी चर्चामा रहने विषय भनेको फिल्मको रिलिज मिति हो । पटक-पटक रिलिज मिति फाइनल भएका फिल्म पोस्टपोन्ड र नयाँ मिति कन्फर्म लगायतका खबरले नेपाली मिडियामा राम्रै स्थान पाउने गर्छन । एकै मितिमा दुई वा त्योभन्दा बढी फिल्मको भिडन्तको खबरले पनि सिनेवृतमा ठूलै भूकम्प ल्याउने गरेका छन् ।
माघ २६ गते अनमोल केसी स्टारर फिल्म 'कृ' र दयाहाङ राई अभिनीत फिल्म 'कान्छी'को महासंग्रामको चर्चा सेलाउन नपाउँदै बैशाख १४ गते नायिका केकी अधिकारी र नायक प्रदीप खड्काको बक्स अफिस भिडन्त हुने सम्भावना बढ्दै गएको छ ।
केकी अधिकारीद्वारा अभिनीत तथा निर्मित फिल्म 'कोहलपुर एक्सप्रेस' बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । आफ्नो आधिकारीक फेसबुकमार्फत केकीले फिल्मको प्रदर्शन मिति घोषणा गरेकी थिइन् । तर, यो मितिमा नायक प्रदीप खड्का स्टारर फिल्म 'लिलिबिली' पनि प्रदर्शनमा आउन सक्ने प्रवल सम्भावना देखिएको छ ।
फिल्मका निर्माता गोविन्द शाहीले फिल्मीखबर डटकमसँगको कुराकानीमा भने, ‘लगभग 'लिलिबिली'को ३० प्रतिशत छायांकन सम्पन्न भैसकेको छ । हाम्रो तयारी फिल्मलाई चैत ३० र यदी पोष्ट प्रोडक्शनको काम सकिएन भने बैशाख १४ गते प्रदर्शनमा ल्याउन लागिरहेका छौ ।’ स्रोतका अनुसार, महंगो बजेटमा निर्माण हुन लागेको 'लिलिबिली' चैत ३० मा आउने सम्भावना निकै न्यून छ ।
यदी लगातार छायांकन भएको खण्डमा 'लिलिलिबी' सुटिङ अर्को महिना अर्थात्, पुष अन्तिममा सकिनेछ । सम्पादन, ग्राफिक्स, डविङ तथा मिक्सिङ गर्न लगभग २ महिना जसो समय लाग्छ । यसरि हेर्दा फिल्मको पोष्ट प्रोडक्शनको काम फागुन अन्तिममा सकिनेछ । बाँकी रह्यो एक महिना । टीजर, गीत र ट्रेलरबाट फिल्मले आफ्नो हाइप बनाउन एक महिना लाग्छ । प्रदीप खड्का फिल्मको मुख्य पात्र भएपछि पब्लिसिटी पनि व्यापक गर्ने पर्यो । यसरि हेर्दा चैत अन्तिममा 'लिलिबिली' आउन मुश्किल देखिन्छ ।
पहिलो पटक फिल्म निर्माणमा हात हालेकी केकीको 'कोहलपुर एक्सप्रेस' कस्तो बनेको होला भन्ने जिज्ञासा बढ्दै गर्दा 'प्रेमगीत' हिरो प्रदीपको 'लिलिबिली'को प्रतिक्षा पनि व्यापक भइरहेको छ । यदी यी दुई फिल्म बैशाख १४ मै प्रदर्शनमा आउने कन्फर्म भएभने फेरि एकपटक अर्को ठूलो भिडन्तको चर्चा सुरु हुनेछ । अब हेर्न यो बाँकी छ कि 'लिलिबिली' यो मितिमा आउँछ वा आउँदैन ?

