
'कबड्डी' फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी रिश्मा गुरुङ दुई हिट फिल्मकी नायिका हुन् । यस्तो सौभाग्य कमै नायिकाले पाउँछन्, जसका लगातार दुई फिल्म सुपरहिट भएका हुन् । रिश्मा त्यो भित्र पर्छिन । उनलाई दर्शकले अझैसम्म वास्तविक नामले चिन्दैनन्, मैयाँकै छाप परेको छ । डेब्यु फिल्म 'कबड्डी' र दोस्रो फिल्म 'कबड्डी कबड्डी'को सफलतापछि मैयाँले 'झुम्की' नामक फिल्ममा काम गरिन्, जसले बक्स अफिसमा पानी समेत भन्न पाएन ।
तर, रिश्मालाई दुई हिट फिल्मले नै निकै चर्चामा ल्यायो । काठमाडौंभन्दा पोखरामा बढी बसोबास गर्ने रिश्माको केही महिनायता खासै चर्चा सुनिएको छैन । आखिर के गर्दैछिन् 'कबड्डी'की व्युटिफूल मैयाँ ? यो जिज्ञासा आम दर्शकको मनमा खुब दौडिरहेको छ । गएको बुधवार 'क्रिटिक्स अवार्ड'मा 'कबड्डी कबड्डी'बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड लिन पुगेकी रिश्मा सेतो रंगको साधारण पहिरनमा धपक्क बलेकी थिइन् । धेरैपछि कुनै सार्वजनिक कार्यक्रममा झुल्किएका कारणले पनि रिश्मातर्फ मिडियाका क्यामेरा मोडिएका थिए ।
तर, अवार्ड पाउनसाथ उनी लुसुक्कै बाहिरिइन् । 'कबड्डी'मा दयाहाङ राई र निश्चल बस्नेत, 'कबड्डी कबड्डी'मा दयाहाङ र सौगात मल्ल र 'झुम्की'मा दयाहाङसँग काम गरेकी रिश्मा सम्भवत हाल कुनैपनि फिल्ममा व्यस्त छैनन् । 'झुम्की' हिट भएको हुन्थ्यो भने दयाहाङकी मैयाँले हिट फिल्ममा ह्याट्रिक मार्ने थिइन् तर उनको त्यो सपना अधुरै रह्यो । सायद 'झुम्की'ले दिएको गहिरो घाउमा अहिले रिश्मा घरमा बसेर मलम लगाइरहेकी छिन् ।
ठूलो पर्दाबाट केही सुस्ताएको जस्तो लागेपछि रिश्माले म्यूजिक भिडियो भने फाट्ट-फुट्ट गरिरहेकी छिन् । विदेशमा हुने सांस्कृतिक कार्यक्रममा पनि उनको व्यस्तता दिन प्रतिदिन बढ्दो छ तर, फिल्मवृत्तबाट भने किन गुमनाम भएकी छिन् 'कबड्डी' मैयाँ ?
आशा गरौं, चाँडै दर्शकले 'कबड्डी'की सोझी मैयाँलाई ठूलो पर्दामा देख्न पाउनेछन् ।

