अनमोल केसी नेपालका सबैभन्दा महंगा नायक हुन् । संख्यात्मक हिसाबले चार फिल्म मात्र प्रदर्शनमा आएपनि उनी सुनभन्दा कम महंगा छैनन् । २० लाख पारिश्रमिकमा अनमोलले ‘कृ’ साइन गरेपछि नेपाली सिनेबजारमा ठूलै कम्पन उत्पन्न भएको थियो । ‘कृ’ रिलिज लगत्तै उनी आफ्नो होम प्रोडक्शनको नयाँ फिल्ममा काम गर्दैछन् । अनमोल मात्र नेपालका यस्ता स्टार हुन्, जसलाई फिल्ममा लिएपछि निर्माताले आफूलाई सुरक्षित महशुस गर्छन् ।
अनमोललाई अहिलेसम्म आधा करोडभन्दा बढी पारिश्रमिकको अफर आइसकेको छ । अनमोल कसैलाई पनि ठाडै फिल्म ‘गर्दिन’ भन्दैनन् । उनी स्क्रिप्ट चित्त बुझे पारिश्रमिक धेरथोर नहेर्ने अभिनेता हुन् । केही निर्माता तथा निर्देशकले ५० लाखसम्म पारिश्रमिक दिने भन्दै अनमोलको घरसम्म पुगेको खबरले केहीदिन यता नेपाली सिनेक्षेत्र राम्रै गर्माएको छ ।
‘ए मेरो हजुर २’ निर्माता सुनिल कुमार थापा, ‘कृ’ निर्देशक सुरेन्द्र पौडेल, फिल्म वितरक मनोज राठी, ‘झ्यानाकुटी’ निर्देशक सिमोस सुनुवार र छविराज ओझाका छोरा साकार ओझाले अनमोललाई ५० लाख अफर गरेको खबर छ । यो कुराको पुष्टि अनमोलका पिता भुवन केसी आफैंले गरे ।
फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा उनले भने, ‘उहाँहरुले एउटा प्रपोजल लिएर आउनु भएको थियो । पहिला पनि झरना थापाजीले अनमोललाई लिएर फिल्म बनाउन खोज्नु भएको थियो तर त्यसबेला विभिन्न कारणले हुन सकेन । अनमोलले ‘कृ’ को काम सकेपछि अन्तिम निर्णय दिन्छु भनेको छ ।’
उनले अगाडि थप्दै भने, ‘अनमोलले फिल्म गर्ने वा नगर्ने भनेर कसैलाई पनि भनेको छैन । अनमोलले आजसम्म कसैलाई पनि मलाई ५० लाख पारिश्रमिक दिनुपर्छ भनेर डिमाण्ड पनि गरेको छैन । तर निर्माताहरु आफैं नै अनमोललाई ५० लाखसम्म पारिश्रमिक दिन तयार छन् ।’
५० लाखको वास्तविकता के हो ?
अनमोललाई निर्माताले ५० लाख अफर गरेको खबरले यतिबेला सिनेवृत तरंगीत छ । हल्लैहल्लाले महंगा बन्दै गएका अनमोललाई के निर्माताले ५० लाख पारिश्रमिक अफर नै गरेका हुन् ? भुवन केसीले फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा बताएका निर्माता र निर्देशकसँग हामीले यस विषयमा कुराकानी गरेका छौं ।
साकार ओझा : ‘फिल्मको कथा नै अनमोललाई सुहाउने छ । यो कुरा म गोप्य राख्न चाहन्थें तर बाहिर आयो । अनमोलका लागि ५० लाख ठूलो रकम होइन । मैले फिल्मको कन्सेप्ट सुनाएको थिएँ तर अनमोलले कुनै औपचारिक जानकारी दिएको छैन । तर, अनमोललाई फिल्मको स्क्रिप्ट मन परेको भुवन अंकलले मलाई फोन गरेर भन्दै हुनुहुन्थ्यो ।’ निर्माता छविराज ओझाका छोरा समेत रहेका साकार चाँडै आफ्नै निर्देशनमा फिल्म निर्माण गर्दैछन् ।
सिमोस सुनुवार : ‘म एउटा लभस्टोरी फिल्म बनाउँदैछु, जुन कथा अनमोललाई निकै सुहाउँछ । हो, मैले अनमोललाई फिल्म अफर गरेको हुँ तर ५० लाख पारिश्रमिक दिन्छु भनेको थिइनँ । फिल्मको कथा प्रदीप भारद्वाजले लेख्नुभएको हो । म र प्रदीप सँगै गएर फिल्मको कथा अनमोललाई सुनाएका थियौं । अनमोलाई फिल्मको कथा निकै मन पर्यो । त्यसपछि पारिश्रमिकको कुरा आउँदा हामीले ४० लाखसम्म दिन तयार भयौं र अनमोल पनि राजी हुनुभयो । अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गर्न मात्र बाँकी छ । उहाँले ‘कृ’ पछि आफ्नो होम प्रोडक्शनको फिल्म गरेर मात्र हाम्रो फिल्म गर्ने मौखिक जानकारी दिनुभएको छ । अर्को ठूलो कुरा के भएको थियो भने अनमोलको होम प्रोडक्शनको फिल्म अगाडि हाम्रो फिल्म रिलिज गर्न नपाइने ! यसमा पनि हामी तयार भयौं । म अहिले सुन्दैछु मैले पनि ५० लाख अफर गरेको थिएँ रे ? यो गलत खबर हो ।’ निर्देशक सुनुवारले ‘फस्ट लभ’, ‘मिसन पैसा’, ‘मिसन पैसा २’, ‘झ्यानाकुटी’ फिल्म निर्देशन गरिसकेका छन् ।
सुरेन्द्र पौडेल : ‘हो, मैले अनमोलाई ५० लाखमा फिल्म अफर गरेको हुँ । फिल्मको कन्सेप्ट अनमोललाई निकै मन परेको छ तर औपचारिक सम्झौता भने भएको छैन ।’ दर्जनौ फिल्म सम्पादन गरेका सुरेन्द्रले हाल अनमोल केसी अभिनीत फिल्म ‘कृ’ निर्देशन गरिरहेका छन् ।
यस विषयमा बुझ्न खोज्दा निर्माता सुनिल कुमार थापाको भने मोवाइल फोन स्वीच्ड अफ छ । उनकी श्रीमती तथा ‘ए मेरो हजुर २’ की निर्देशक झरना थापाले अनमोलाई ५० लाख अफर गरिएको खबर झुटो रहेको फेसबुकमार्फत बताएकी छिन् । प्राप्त जानकारी अनुसार, झरनाले निर्देशन गर्ने तथा सुनिल कुमार थापाले निर्माण गर्ने नयाँ फिल्ममा अनमोललाई ५० लाख अफर गरिएको हो ।
यस्तै, मनोज राठीले आफू एक काममा व्यस्त भएका कारण केही घण्टापछि यर्थाथ कुरा खुलाउने बताए । हामी चाँडै मनोज राठी र सुनिल कुमार थापाको भनाई पनि प्रस्तुत गर्नेछौं ।