
निर्देशक तथा नायक निश्चल बस्नेतसँग विवाह गर्नु अगाडि नायिका स्वस्तिमा खड्का गुमनाम जस्तै थिइन् । डेब्यू फिल्म 'होस्टेल रिर्टन्स' हिट भएपनि उनी खासै हाइलाइटमा आइनन् । बरु यो फिल्मबाट नायक नाजीर हुसैन चम्किए । फिल्ममार्फत दर्शकमाझ क्लिक हुन नसकेपनि स्वस्तिमाले म्यूजिक भिडियो भने प्रशस्तै पाइरहेकी थिइन् । यही बीचमा उनले निश्चलसँग विवाह गरिन् ।
नायिकाहरुलाई विवाहपछि आफ्नो फिल्मी करिअर चौपट हुनेमा विछट्टै डर हुन्छ । यो धेरै नायिकाको हकमा लागू नभएको होइन तर रेखा थापा, झरना थापा, करिश्मा मानन्धर लगायतका नायिकाहरु भने विवाहपछि नै चम्किएका हुन् । 'लुट' जस्तो सफल फिल्म निर्देशन गरेका निश्चलपनि स्वस्तिमाको जीवनमा टर्निङ प्वाइन्ट बनेर आए । धेरै भन्ने गर्छन् विवाहपछि स्वस्तिमाको भाग्य चम्किएको छ ।
लगातार फिल्म पाइरहेकी छिन्, म्यूजिक भिडियोमा प्रत्येक दिन व्यस्तता बढ्दो छ सायद एउटा नायिकाले खोजेको जिन्दगी पनि यस्तै हो । विवाहपछि स्वस्तिमाले 'लभ लभ लभ'मार्फत फिल्ममा कमब्याक गरिन् । यो फिल्मले बक्स अफिसमा धमका त मच्चाएन तर उनको अभिनयको चौतर्फी प्रशंसा भयो । फिल्म फ्लप हुँदा पनि आफू हिट हुने नायिकाहरु नेपाली फिल्ममा विरलै छन् ।
'लभ लभ लभ'पछि स्वस्तिमाले काम गरेको फिल्म हो 'छक्का पञ्जा २' । यो फिल्म हलमा लाग्नु अगाडि उनले फिल्म 'दुई रुपैयाँ'मा समावेश 'कुटुमा कुटु' बोलको गीतमा आफ्नै श्रीमान निश्चल बस्नेतसँग कम्मर मर्काइन् । यो गीतले उनलाई नसोचेकै सफलता दिलायो । हालसम्म यो गीतको भिडियोलाई युट्युबमा ३ करोडभन्दा बढी पटक हेरिएको छ । त्यसैले त स्वस्तिमालाई गीतबाटै हिट भएकी नायिका पनि भन्ने गरिन्छ ।
यो गीतले बजारमा धूम मच्चाउँदै गर्दा उनी अभिनीत फिल्म ‘छक्का पञ्जा २’ मा समावेश 'ए दाजु नसमाऊ नारीमा' बोलको गीत सार्वजनिक भयो । विवादै-विवादले यो गीतले पनि युट्युबमा करोड भ्यू पायो । गीतबाटै नसोचेको सफलता हात पारेकी स्वस्तिमालाई फिल्म ‘छक्का पञ्जा २’ ले सबैभन्दा ठूलो सफलता दियो । गएको बिहीवारबाट यो फिल्म ५१ औं दिनमा प्रवेश गरेको छ ।
दीपकराज गिरी, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत जस्ता चर्चित कलाकारको छाँया स्वस्तिमामाथी नपरेको होइन तर फिल्मको सफलताले यसको मापन गरेन । अन्ततः उनले फिल्मबाट पनि आफूलाई हिट सावित गराइन् । तर, अझै स्वस्तिमाले आफूलाई प्रमाणित गर्न बाँकी छ । ‘छक्का पञ्जा २’ हिट हुनुको पछाडि स्वस्तिमा मात्र छैनन् । त्यसैले अब सोलो नायिका भएर एक हिट फिल्म दिन उनलाई अत्यन्त आवश्यक छ ।

