मिति : २०७४ मंसिर ९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ग्याङ्गस्टर ब्लूज’ नचल्दा आशिरमानलाई कति घाटा ?

फिल्मीखबर, काठमाण्डौ, 2017/11/13
 
आशिरमान देशराज जोशी एक सम्पन्न परिवारका छोरा हुन् । उनकी आमा रविना देशराज जोशी मेघा बैंककी सहायक उप-कार्यकारी अधिकृत हुन् । उनका दाई आयुष्मान देशराज जोशी फिल्म 'चपली हाईट २' बाट नेपाली रजतपटमा भित्रिएका थिए । दाईकै बाटोमा आशिरमान पनि लागे । उनको डेब्यू फिल्म थियो ‘ग्याङ्गस्टर ब्लूज’ । 
 
बलिउड फिल्म 'आशिकी २' का नायक आदित्य रोय कपूरसँग धेरथोर अनुहार मिल्ने आशिरमानलाई  ‘ग्याङ्गस्टर ब्लूज’ रिलिज अगाडि नै सम्भावना बोकेको नायकको रुपमा हेरिएको थियो । अग्लो जिउडाल र चकलेटी अनुहारकै कारण हजारौ युवतीको दिलमा बसेका थिए आशिर । फिल्मको ट्रेलर र गीत रिलिज भएपछि त झन धेरै युवतीले आफ्नो 'ड्रिम व्वाई' भन्दै आशिरमानका तश्वीरले फेसबुकको भित्ता रंग्याए । 
 
फिल्म प्रचारको क्रममा देश दौडाहामा जाँदा उनलाई छुँदा र हेर्दा नै धेरै युवतीको आँखाबाट आँसु खसेका थिए । फिल्म रिलिज अगाडि नै यस्तो डाइहाट फ्यानका धनी आशिरको ‘ग्याङ्गस्टर ब्लूज’ चल्दैन भन्नेमा सम्भवतः कसैको मनमा पनि शंका उब्जिएको थिएन । जताततै नेपाली मिडियामा ‘अबका स्टार आशिरमान’ जस्ता शिर्षकमा समाचार लेखिएका थिए । आशिरमान पनि यी सब दृश्य हेरेर मख्ख थिए । यही झोकमा डेब्यू फिल्म रिलिज अगाडि नै आशिरले रोहित अधिकारीको फिल्म 'ब्रेकअप' साइन गरे । त्यो पनि १५ लाख पारिश्रमिकमा । 
 
यसै वर्षको भदौ २ गते ‘ग्याङ्गस्टर ब्लूज’ हलमा लाग्यो । तर, रिजल्ट यस्तो आयो, जसले आशिरमानलाई छाँगाबाट खसेझैँ बनायो । आशिरमानका दिलदार फ्यानलाई समेत उनको अभिनयले खुसी बनाएन । अन्ततः ह्वात्तै बलेको बत्ति झ्याप्पै निभ्यो । अनि, सेलायो आशिरमानको चर्चा । 
 
अनावश्यक रुपमा आशिरमानलाई हिरो बनाउन खोज्दा फिल्मले आफ्नो बाटो छाडेको धेरैको तर्क थियो । डेब्यू फिल्मले दिएको चोटमा अहिले आशिर घरमा बसेर मलम लगाइरहेका छन् । केही दिनयता सिनेबजारमा गाइँगुइँ हल्ला पनि चलेको छ कि आशिरमान फिल्म 'ब्रेकअप'बाट बाहिरिसकेका छन् । तर, निर्माता रोहित अधिकारी यो खबरमा सत्यता नभएको बताउँछन् । 
 
डेब्यू फिल्म हिट भएको हुन्थ्यो भने यतिबेलासम्म आशिरमानको हातमा दर्जनौ फिल्मका स्क्रिप्टदेखि २० देखि २५ लाखसम्म पारिश्रमिक दिने भन्दै फिल्मका निर्माता उनको घरसम्म पुगिसकेका हुनेथिए । तर,  ‘ग्याङ्गस्टर ब्लूज’ ले उनलाई न स्टार बनायो न अगाडि बढ्न सक्ने तागत नै दियो । 'ब्रेकअप'बाट यदी आशिरमान बाहिरिएका रहेनछन् भने उनलाई यो फिल्मले कस्तो सफलता दिनेछ-यो भने हेर्न बाँकी छ ।