मिति : २०७४ मंसिर ९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लिलिबिली’मा हिरोइन चेन्ज, अब प्रदीप-प्रियंकाको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2017/11/13
 
'प्रेमगीत' र 'प्रेमगीत २' बाट एकाएक चर्चामा आएका नायक प्रदीप खड्का अहिले नयाँ फिल्म ‘लिलिबिली’को काममा व्यस्त छन् । गएको महिना यो फिल्मको काठमाडौंको पाँचतारे होटलमा भब्य कार्यक्रमका विच निर्माण घोषणा गरिएको थियो । अधिकांश छायांकन बेलायत र स्कटल्याण्डमा हुने यो फिल्मका लागि प्रदीपले २२ लाख पारिश्रमिक लिएको चर्चाले अझैपनि सिनेवृत सेलाएको छैन । अझ, फिल्मका कलाकारले पत्रकार सम्मेलनमै बडिगार्ड लिएर इन्ट्री मारेपछि त झन यो फिल्मको विषयमा थुपै गसिप बने । 
 
फिल्मको निर्माण घोषणाको बखत प्रदीपको जोडीको रुपमा नव-नायिका द्वय जसिता गुरुङ र रेविका गुरुङलाई पत्रकारमाझ परिचय गराइएको थियो । तर, केहीदिन अगाडि फिल्मीखबर डटकमले ‘बेलायतले पत्याएन प्रदीपकी हिरोइनलाई’ भन्ने शिर्षकमा एक समाचार प्रकाशन गर्‍यो। यो समाचारले सिनेवृतमा ठूलै भूकम्प ल्यायो । फिल्मकी मुख्य नायिका रेविका गुरुङको भिषा आवेदन नेपालस्थित बेलायती दूतावासले अस्वीकृत गरेपछि फिल्म निर्माण टीम तनाबमा थियो । 
 
रातारात फाटोसुट गराएर रेविकाले फेरि बेलायती दूतावासमा भिषा आवेदन दिइन् तर दोस्रो पटक पनि उनको भिषा अस्वीकृत भएको स्रोत बताउँछ । पटक-पटक फिल्मकी मुख्य हिरोइनको भिषा आवेदन रद् भएपछि फिल्म निर्माण टीमले रेविकाको स्वास्थ्य अवस्था ठिक नभएको भन्दै उनको ठाउँमा नायिका प्रियंका कार्कीलाई अनुवन्धित गरेको छ ।
 
स्रोतले फिल्मीखबरलाई दिएको जानकारी अनुसार, प्रियंकाले ‘लिलिबिली’को सम्झौता पत्रमा हस्ताक्षर गरिसकेकी छिन् । प्रियंकाका लागि लन्डन पानीपधेँरो जस्तै हो । 
 
 
‘लिलिबिली’बाट बाहिरिएकी नायिका रेविका गुरुङ
 
प्रियंका फिल्म 'ह्याप्पी डेज'को प्रिमियरका लागि भन्दै गएको शुक्रवार मात्र लन्डन प्रस्थान गरेकी छिन् । उनीसँग ‘लिलिबिली’ निर्देशक मिलन चाम्स, नायक प्रदीप खड्का पनि लन्डन पुगिसकेका छन् । फिल्मकी अर्की लिड हिरोइन जसिता गुरुङ भने लन्डनमा नै बस्दै आइरहेकी छिन् ।
 
स्रोतका अनुसार, प्रियंकाले नेपालमै फिल्म साइन गरेर लन्डन प्रस्थान गरेकी हुन् । केही सञ्चारमाध्यमसँग कुराकानीको क्रममा निर्देशक चाम्सले 'लिलिबिली'मा प्रियंका मुख्य भूमिकामा हुन सक्ने संभावना रहेको बताएका थिए ।  प्रियंकाले निर्देशक चाम्सको 'ह्याप्पी डेज' फिल्ममा मुख्य भूमिका निर्वाहा गरेकी छिन् ।
 
प्रियंकासँगै प्रदीपको जोडीको रुपमा नायिका दीया पुनको पनि गाइँगुइँ हल्ला चलेको थियो । फिल्मको घोषणा सभामा निर्देशक चाम्सले प्रदीपसँग जोडी मिलाउन जसिता र रेविकालाई अनुवन्धित गरेको बताएका थिए । के अब प्रदीपसँग प्रियंकाको जोडी सुहाउला ? सिनेवृतमा यो चर्चा सुरु हुन थालेको छ । 
 
कात्तिक पहिलो साताबाट छायांकन सुरु हुने बताइएपनि रेविकाको भिषा अस्वीकृत भएपछि फिल्मको सुटिङ सुरु हुन सकेको थिएन । अब लन्डनमा फिल्म 'ह्याप्पी डेज'को प्रिमियर सकिएसँगै 'लिलिबिली'को छायांकन सुरु हुनेछ ।