
कहिले के त कहिले के ? नेपाली सिनेबजार बेला बखतमा विभिन्न कारणले तरंगीत बन्ने गर्छ । यस्तै, केहीदिन यता नायिका सृष्टि श्रेष्ठको बलिउड डेब्यूलाई लिएर खुबै चर्चा भैरहेको छ । नेपालमा समेत छायांकन हुन लागेको यशराज ब्यानरको नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’मा सृष्टिले अभिनय गर्न लागेको खबरले नेपाली मिडियामा राम्रै स्थान पाइरहेका छन् ।
तर, यो कुरालाई न यशराज ब्यानरले पुष्टि गरेको छ न त सृष्टिले नै । चौतर्फी बलिउड डेब्यूको खबरले यतिबेला सृष्टि भने राम्रै तनाबमा देखिएकी छिन् । फोन र सामाजिक सञ्जालमा प्रत्येक प्रशंसकको प्रश्नको उत्तर दिँदा-दिँदै उनी हैरान भएकी छिन् । खबरका अनुसार, आफू अभिनीत नयाँ फिल्म ‘रोमियो एण्ड मुना’ को छायांकनको क्रममा पुर्वी नेपाल पुग्दा सृष्टि उक्त फिल्मको अडिसनको लागि मुम्बई पुगेकी थिईन् ।
यस्तै, केही महिना अगाडि सृष्टि प्रेमी तथा अभिनेता सौगात मल्लसँग पुनः मुम्बई गएको खबर छ । बारम्बार मुम्बई दौडाहपछि उनलाई बलिउडको बिग ब्यानर यशराज फिल्मस् को ‘सन्दीप और पिंकी फरार’ मिलेको स्रोत बताउँछ । तर, सृष्टिले यो कुरालाई निराधार भएको बताएकी छिन् ।

‘सुचना सम्भवतः पावर हुन सक्छ । तर, गलत सूचना दिनु पनि शक्तिको दुरपयोग हो । प्रिय प्रशंसकहरु, मैले भारतीय फिल्ममा डेब्यू गर्न लागेको भन्ने समाचारहरु गलत हुन् । कृपया अफवाह नफैलाउनुस् ।’ भन्दै उनले फेसबुकमा स्टाटस लेखेकी छिन् ।
अनमोल केसी अभिनीत फिल्म 'गाजलु'बाट नेपाली रजतपटमा भित्रिएकी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठलाई नेपाली फिल्ममा संभावना बोकेको नायिकाको रुपमा हेरिएको छ । उनले भारतको चर्चित गीत 'कभि जो बादल बर्से'को अनप्लग्ड भर्सनमा अभिनय गरेकी थिइन् । यही गीतबाट उनको चर्चा चुलिएको थियो ।

