 copy(1).jpg)
शंकै छैन, नायिका रेखा थापा र नायक आर्यन सिग्देलको स्टारडम अब ओरालो लागेको छ । कुनै दिन नाम मात्रले पनि यी दुईका फिल्म सुपरहिट हुन्थे । प्रत्येक फिल्ममा एक्सन लेडीको रुपमा देखिने रेखा र लभर व्याईको भूमिकामा खुब विकेका आर्यन अहिले आफ्नो पुराना क्रेज फर्काउने दौडमा छन् । खस्कदो स्टारडमलाई बचाउन यी दुईले ८ वर्षपछि एकसाथ फिल्म गरे, ‘रुद्रप्रिया’ ।
लक्ष्मी पूजा अर्थात्, कात्तिक २ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा लक्ष्मीको कृपा बनाइराख्न सकेन । ८ वर्षअघिका फिल्ममा प्रेम-प्रेमिकाको भूमिकामा देखिँदै आएका रेखा र आर्यनले यो फिल्ममा पनि दर्शकलाई त्यही रस दिने प्रयास गरे । एसिड आक्रमणपछि एउटा महिलाको जीवनमा आउने उतार-चढावको कथा फिल्मले बोल्छ । दर्शकले जति अपेक्षा गरेर रेखा र आर्यनको लभ-केमेष्ट्री हेर्न चाहेका थिए सायद ‘रुद्रप्रिया’ त्यसमा खरो उत्रन सकेन ।
नेपालको सन्दर्भमा फिल्मले उठाएको कथावस्तु सान्दर्भिक भएपनि ‘रुद्रप्रिया’को टिकटमा धमिरा लाग्यो । ८ वर्षपछि रेखा-आर्यनको हिट जोडी पर्दामा फर्किएका कारणले यो फिल्म हेर्न मल्टिप्लेक्स र सिंगल हलमा दर्शकको चाप बढ्नेमा निर्माण पक्ष्य विश्वस्त थियो । तर, कतैपनि फिल्मको व्यापारले निर्माताको गोजी भरेन । फिल्म 'पलाँस' र 'डायरी' फल्प भएपछि रेखामाथि ‘रुद्रप्रिया’बाट आफ्नो स्टारडम प्रमाणित गर्नु पर्ने चुनौती थियो ।
आर्यन पनि लगातार फल्प फिल्मको संख्या जोड्दा-जोड्दै दिकदार भैसकेका थिए । रेखा र आर्यन, आफ्नो गुम्दै गएको क्रेज ‘रुद्रप्रिया’ले फर्काउनेमा विश्वस्त थिए तर सफल भएनन् । ‘रुद्रप्रिया’को असफलतापछि सिनेबजारमा रेखा र आर्यनको स्टारडम ओरालो लागेको बहस सुरु भएको छ । ८ वर्ष अगाडिसम्म लक्की जोडी ठहरिएका रेखा र आर्यनको स्टारडमको परिक्षा ‘रुद्रप्रिया’को असफलताले प्रमाणित गरिसकेको छ ।
३६ को आँकडामा रहेको यी दुईको सम्बन्धलाई ‘रुद्रप्रिया’ले संग्लो बनाएको थियो । कतै भोलीका दिनमा रेखालाई एउटा बतास र आर्यनलाई अर्को बतासले टाढा पुर्याउने त होइन ? एक जना दर्शक आएसम्म फिल्म गरिरहने घोषणा गरेका आर्यन र दर्शकले फिल्म रुचाइदिए पुग्छ भन्ने रेखालाई फेरि पर्दामा दर्शकले एकसाथ देख्न पाउलान् वा नपाउलान् ? त्यो भने भविश्यले बताउला ।

