कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मेला’लाई लिएर नायिका अशिष्मा नकर्मी उत्साहित छिन् । यो फिल्ममा अशिष्मा सोलो हिरोइनको रुपमा देखिएकी छिन् । उनको साथमा नायकद्वय सलोन बस्नेत र आमेष भण्डारीलाई पनि फिल्ममा देख्न सकिन्छ ।
‘मेला’ले तीन जना कलेज पढ्ने साथीको कथालाई प्रस्तुत गरेको अशिष्माले् बताइन् । उनले भनिन्–‘फिल्मभित्र तीन पात्रलाई देखाइएको छ । जसको जिन्दगी आ–आफ्नै तरिकाले परिवर्तित हुन्छ । ‘मेला’ को कथावस्तु र प्रस्तुती राम्रो छ ।’ ‘फिल्ममा आमेष र सलोनको प्रेम मसँग हो कि भन्ने अनुमान ट्रेलर हेर्दा लगाउन सकिन्छ । तर, कथावस्तु निकै रमाइलो र गम्भिर छ, यसका लागि दर्शकले फिल्म नै हेर्नुपर्छ’, अशिष्मा भन्छिन् ।
सोलो हिरोइन भएपछि फिल्ममा आफ्नो काम देखाउने अवसर अझै धेरै पाउने अशिष्माको बुझाई छ । उनी भन्छिन्–‘केही फिल्ममा जस्तै यसमा पनि मैले, आफ्नो काम देखाउने मौका पाएकी छु । सलोन अहिलेका हट केक कलाकार हुन् । आमेषसँग पनि मेरो जोडी जमेको छ । आशा छ, दर्शकले मन पराउनु हुनेछ ।’
सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘मेला’ लाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । फिल्ममा पवित्रा आचार्यको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ ।

