.jpg)
नायक दयाहाङ राई र नायिका श्वेता खड्का अभिनित फिल्म ‘कान्छी’को सम्पूर्ण छायांकन सकिएको छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा ५० दिन खिच्दै फिल्मको छायांकन सकिएको हो । यो फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । आकाशले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम फिल्म 'कोहिनूर'को पनि निर्देशन गरेका थिए ।
लक्ष्मी पूजाको दिनबाट छायांकन सकिएको यो फिल्ममा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । फिल्मको छायांकन सकिएको जानकारी दिँदै श्वेताले फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली स्वरुप माघ २६ गतेबाट ‘कान्छी’ दर्शकमाझ लिएर आउने बताइन् । उनले लेखेकी छिन्, 'एउटा कलाकारको पत्नीको नाताले मैले उहाँलाई एउटा राम्रो फिल्म समर्पण गर्ने प्रयास गरेकी छु ।'

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । स्वेता आफैले यो फिल्म निर्माण गरेकी हुन् । 'कोहिनूर'पछि श्वेताले 'कान्छी'मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।

