भिलेन अर्थात् गुण्डा भनेको के हो ? फिल्मको पर्दामा प्रस्तुत भए अनुसार सधै अरुलाई दुःख दिने, सबै कुरा आफ्नो पक्षमा बनाउने र डरलाग्दा कामहरु गर्नेलाई भिलेन भन्ने गरिन्छ । वर्षौदेखि भिलेनको यो परिभाषा बदलिएको छैन । केही वर्ष अगाडिसम्म फिल्मको पर्दामा गुण्डाको भूमिकामा सुनिल थापा, टिका पहारी, राजेन्द्र खड्गी बाक्दै देखिन्थे ।
पछिल्लो समय अनुप विक्रम शाही, प्रज्वल सुरज गिरी लगायतका केही कलाकारले भिलेनको परिभाषा नै बदलिदिएका छन् । भिलेन भनेको डरलाग्दो अनुहार भएका व्यक्ति मात्र होइन चकलेटी अनुहारका दमदार भिलेनको इन्ट्री विस्तारै नेपाली फिल्ममा बढ्दै गएको छ । यही भीडका एक व्यक्ति हुन्, प्रशान्त ताम्राकार ।
हुनत, यसअघि प्रशान्तलाई दर्शकहरुले 'मुखौटा', 'सम्बोधन' लगायतका केही फिल्ममा देखिसकेका थिए । तर, दर्शकमाझ प्रशान्तको गतिलो छाप बन्न सकेको थिएन । अब उनी अभिनित नयाँ फिल्म 'ऐश्वर्य' कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो फिल्मको टीजर, ट्रेलर र एक गीत रिलिज भैसकेको छ । टीजर र ट्रेलरमा देखिएको प्रशान्तको पावरफूल भूमिकाले अहिले 'ऐश्वर्य' नै दर्शकमाझ प्रतिक्षीत बनेको छ ।
ट्रेलरमा उनले बोलेको ‘मलाई त्यो ऐश्वर्य चाहिएको छ’ भन्ने डाइलग यतिबेला खुबै चर्चामा छ । ट्रेलरबाट के अनुमान लगाउन सकिन्छ भने फिल्ममा ऐश्वर्य उर्फ दीपिका प्रसाईलाई पाउन रमेश उप्रेती र प्रशान्त ताम्राकारको महासंग्राम हुनेछ । फिल्मको ट्रेलर रिलिज भएपछि अहिले दर्शकहरुले प्रशान्तलाई ‘ह्यान्डसम भिलेन’को उपनाम दिएका छन् । फिल्ममा उनले ‘राघव’ को भूमिका निर्वाहा गरेका छन् ।
सुदीप बरालले खिचेको यो फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको अभिनय छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । फिल्मका लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् ।
ट्रेलर हेर्नुहोस् :-