नेपाली समाजमा कसैको नजर नलागोस् भन्ने उद्देश्यले कागती र खुर्सानीको माला घर वा सवारी साधनमा झुन्ड्याउने गरिन्छ । तर, मंगलवार नायक सौगात मल्लको घाँटीमा कागती र खुर्सानीको माला देख्दा एकपटक त सबै दंग परे । फिल्म ‘झ्यानाकुटी’को ट्रेलर रिलिज कार्यक्रममा सौगातले आफ्नो घाँटीमा कागती र खुर्सानीको माला झुन्ड्याएका थिए ।
कागती र खुर्सानीसँगै उनले नायिका बेनिशा हमालको फोटो पनि बोकेका थिए । फिल्म ‘झ्यानाकुटी’मा सौगात र बेनिशा मुख्य भूमिकामा छन् । फिल्मको ट्रेलर रिलिज पश्चात सौगातले घाँटीमा कागती र खुर्सानीको माला झुन्ड्याउनुको कारण खुल्यो । उनले बेनिशामाथि कसैको आँखा नलागोस् भन्नका लागि आफ्नो घाँटीमा कागती र खुर्सानी माला लगाएका थिए ।
कमेडी प्रधान भनिएको फिल्म ‘झ्यानाकुटी’को फस्ट लुक पोष्टरमा बेनिशाले सौगातलाई काँधमा बोकेकी थिइन् । पत्रकार सम्मेलनमा पनि झण्डै १ मिनेट बेनिशाले सौगतलाई काँधमा बोकिन् । प्रेम र विवाहपछि सौगात र बेनिशाको बीचमा हुने घरायसी समस्याको कथा फिल्मले बोलेको छ । यो फिल्म मंसिर १ गतेबाट प्रदर्शनमा आउँदैछ ।
‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । नायिका निशा अधिकारीले पहिलो पटक निर्माण गरेको यो फिल्मलाई सिमोस सुनवारले निर्देशन गरेका हुन् । फिल्म निर्माणमा निशालाई सिमोसले पनि सहयोग गरेका छन् ।