कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ को मोफसल टुरको सुरुवात पोखराबाट भएको छ । गीत र ट्रेलर दिएको हाईपलाई बढाउनुका साथै मोफसलका सञ्चारकर्मीसँग प्रत्यक्ष साक्षात्कार गर्ने उद्येश्यका साथ टुरको सुरुवात गरिएको नायक तथा निर्माता रमेश उप्रेतीले जानकारी दिए ।
आइतबार पोखरामा कास्की चलचित्र पत्रकार संघको आयोजनामा सम्पन्न पत्रकार भेटघाटमा फिल्मका अभिनेता रमेश उप्रेती, प्रशान्त ताम्राकार, निर्मल शर्मासंगै अभिनेत्री दीपिका प्रसाईं उपस्थित थिए । पत्रकार सम्मेलनमा बोल्दै रमेश उप्रेतीले भने, 'मैले नेपाली फिल्ममा एउटा स्तरीय फिल्म बनाउने कोशिश गरेको छु । मलाइ आश छ कलाकारिताबाट संगालेको अनुभवलाई ‘ऐश्वर्य’मा प्रयोग गरेको छु । मलाई कलाकार भएकोले नै दर्शकको ताली र गाली थाहा छ । त्यसैले गर्दा पनि म ढुक्क छु दर्शकलाई मन पर्ने फिल्म बनाएको छु ।'
उनले अगाडि थप्दै भने, 'पछिल्लो समय स्टारको कुरा आउने गरेको छ । त्यसमा हामी हतारिएको जस्तो लाग्छ । किनकी एउटा फिल्म खेल्दैमा कोही स्टार हुँदैन । केही समय राम्रा फिल्म दिएर फरक फरक ब्यनारबाट आएका कलाकार नै स्टार हुन् ।'
यस्तै, नायिका दीपिका प्रसाईले पत्रकारको प्रश्नको उत्तर दिँदै भनिन्, 'मेरो यो पहिलो फिल्म हो । मेरो लागि फिल्म अनुभव नयाँ नै हो तर पनि आफुले सक्दो काम गरे जस्तो लाग्छ । म कहाँ पुग्छु भन्ने विश्लेषण त फिल्म हेरेपछि तपाईले गरि नै हाल्नु हुन्छ तर दर्शकले नोटिस हुने किसिमको काम मैले गरेकी छुन ।' फिल्ममा उनले सुपर मोडलको भूमिका निर्वाहा गरेकी छिन् ।
फिल्मका अर्का कलाकार प्रशान्त ताम्राकारले ‘ऐश्वर्य’मा आफू नेगेटिभ क्यारेक्टरमा रहेको जानकारी दिए । उनले भने, 'म आफूलाई भिलेन भन्दा पनि एउटा मिसनमा हिँडेको पात्र भन्न सकिन्छ । मेरो टाटा बाईबाई, मुखौटा र सम्बोधन पछि आएको यो फिल्मले दर्शकको मन जित्छु भन्ने आश छ । मलाई लाग्छ भिलेन जति बलियो हुन्छ, हिरो त्यति नै बालवान हुन्छ ।'
पोखराबाट सुरु भएको टुर चितवन हुँदै हेटौंडा पुगेर सकिने निर्माण पक्षको भनाई छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी अधिकारी, अर्जुन श्रेष्ठ, केशव भट्टराई, अर्जुनजंग शाही लगायतका कलाकाहरुको पनि अभिनय रहेको छ । संगीतकार अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको 'तिमि रोएको पल' गीतले पछिल्लो समय फिल्मलाई चर्चामा ल्याएको छ ।