कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ यतिबेला विभिन्न कारणले चर्चाको शिखरमा छ । 'तिमी रोएको पल' बोलको गीतको कारणले होस् वा पावरफूल ट्रेलरले गर्दा नै किन नहोस् ‘ऐश्वर्य’को चर्चामा कमी आएको छैन । रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई लगायतका कलाकारहरुको फिल्ममा मुख्य भूमिका छ ।
फिल्ममा केकी अधिकारी पनि मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । तर, निर्माण पक्षले केकीलाई लुकाउँदै आएको छ । फिल्मको फस्ट लुक पोष्टर र टीजरमा केकीले ठाउँ पाइनन् मात्र ट्रेलरमा दर्शकले उनलाई देख्न पाए । फिल्मको प्रचार साम्रागीमा फिल्मकी नव-नायिका दीपिकालाई बढी प्राथमिकता दिएपछि कतै केकी रुष्ट भएकी त होइनन् ? कतै निर्माण पक्षसँग केकीको द्वन्द्व सुरु भएको पो होकि ? सिनेवृतमा यस्ता अनेकथरी बहस चले ।
ट्रेलरले यो प्रश्नको उत्तर दियो । तर, केकी फिचरिङ फिल्मको पोष्टर निर्माण पक्षले बाहिर ल्याएको थिएन । ‘ऐश्वर्य’को प्रदर्शन मिति नजिकिँदै गर्दा केकी फिचरिङ फिल्मको फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । एक तश्वीरमा केकी रमेश उप्रेतीको काँधमा हात राखेर मन्द मुस्कानमा देखिएकी छिन् भने दोस्रो तश्वीरमा खलनायक प्रशान्त ताम्राकारको पछाडि उभिएकी छिन् ।
सुदीप बरालले खिचेको यो फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको अभिनय छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । फिल्मका लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् ।